ललितपुर - ललितपुर महानगरपालिका वडा नं. २९ को आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर औपचारिक रूपमा सञ्चालनमा आएको छ।
शिविरको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक राजु महर्जनले महानगरले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले पछिल्लो समय आँखासम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता शिविरहरू सबै वडामा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
ललितपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष गणेशकुमार महर्जनका अनुसार शिविरमा १८३ जनाको आँखा परीक्षण गरिएकोमा ५० जनामा शल्यक्रिया आवश्यक देखिएको छ। उहाँले विगतको तुलनामा अहिले आँखाका रोगीको संख्या वृद्धि भएको जानकारी दिँदै समयमै परीक्षण र उपचार गराउन सबैलाई आग्रह गर्नुभयो। साथै, वडाबाट नियमित रूपमा आँखा शल्यक्रिया सेवा उपलब्ध गरिँदै आएको र प्रत्येक शुक्रबार बिहान ७:३० देखि ८:३० बजेसम्म नाक, कान, घाँटी सम्बन्धी परीक्षण सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो। त्यसैगरी, प्रत्येक बिहीबार बिहान ८:०० देखि ९:०० बजेसम्म पेटसम्बन्धी भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) सेवा पनि प्रदान गरिँदै आएको उहाँले बताउनुभयो।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष वीरेन्द्र महर्जनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायमा रहेका आँखासम्बन्धी समस्याबाट पीडित नागरिकलाई ठूलो राहत मिलेको उल्लेख गर्नुभयो। उहाँले वडाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सगरमाथा चौधरी आँखा अस्पतालका प्रतिनिधिले ललितपुर महानगरपालिकासँगको सहकार्यप्रति आभार व्यक्त गर्दै हाल १८ वटा स्थानीय तहसँग समन्वय गरी आँखा परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय पुरुषको तुलनामा महिलाहरूमा आँखा सम्बन्धी समस्या बढी देखिएको छ।
यस आँखा शिविरको मुख्य उद्देश्य समुदायस्तरमै पहुँचयोग्य, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। विशेषगरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई निःशुल्क परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरी अन्धोपनाको जोखिम न्यूनीकरण गर्नु, समयमै रोग पहिचान गरी उचित उपचारमा जोड दिनु तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नु यसको प्रमुख लक्ष्य रहेको आयोजकले जनाएको छ।