ललितपुरमा सृजनात्मक कला केन्द्र सञ्चालन समिति गठन, पहिलो बैठक सम्पन्न

Date: 2026-05-05
news-banner
ललितपुर - ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा ‘ललितपुर सृजनात्मक कला केन्द्र सञ्चालन समिति’को पहिलो परिचयात्मक बैठक सम्पन्न भएको छ। महानगरभित्र सिर्जनात्मक कला तथा सांगीतिक गतिविधिहरूको संरक्षण, प्रवर्द्धन र संस्थागत विकास गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको हो।

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कला र संस्कृतिले शहरको पहिचान निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सृजनात्मक क्षेत्रलाई नीतिगत रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले ललितपुरलाई परम्परागत र आधुनिक कलाको संगमस्थलका रूपमा विकास गर्ने लक्ष्य अनुरूप यस्ता समितिहरूको गठन गरिएको बताए।

कार्यक्रममा उपमेयर मञ्जली शाक्य बज्राचार्यले सृजनात्मक क्षेत्रको दिगो विकासका लागि स्थानीय सरकारको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। त्यसैगरी, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकास मान श्रेष्ठले ललितपुरमा रहेका अमूर्त सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गर्दै आधुनिक माध्यममार्फत विश्वसामु चिनाउने योजनाबारे प्रकाश पारे। 


बैठकमा विशेष रूपमा सांगीतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो। सहभागीहरूले परम्परागत संगीतले नेपाली समाजको पहिचान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै यसको संरक्षणमा युवाहरूको बढ्दो सहभागिता सकारात्मक संकेत भएको बताए। पछिल्लो समय युवा पुस्ता संगीत तथा सृजनात्मक क्षेत्रमा आकर्षित हुँदै गएको सन्दर्भमा उनीहरूको क्षमता विकास र अवसर विस्तार गर्नुपर्नेमा जोड दिइयो।

समितिको उद्देश्य संगीतकारहरू तथा सम्बन्धित सर्जकहरूको सामाजिक र आर्थिक अवस्था सुदृढ बनाउनुका साथै उनीहरूलाई आफ्नो पेशाप्रति गर्व गर्ने वातावरण सिर्जना गर्नु रहेको बताइएको छ। साथै, लैङ्गिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि समितिले लिएको छ।


बैठकले ललितपुरलाई एक जीवन्त सांस्कृतिक तथा सांगीतिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना अघि बढाउने निर्णय गरेको छ। ललितपुर महानगरपालिकाले सृजनात्मक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा नीति, कार्यक्रम र बजेटमार्फत थप सुदृढ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस पहलले स्थानीय कलाकारहरूलाई प्रोत्साहन मिल्नुका साथै ललितपुरको सांस्कृतिक पहिचान थप उजागर हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका महाशाखा प्रमुख खगेन्द्र वस्ती, ललितपुर सृजनात्मक कला केन्द्र सञ्चालन समितिका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


Leave Your Comments