ललितपुर - ताम्राकार समाज भजन उपसमितिको आयोजना तथा ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको सहयोगमा सञ्चालन गरिएको ६ महिने भजन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य ले धार्मिक, सांस्कृतिक तथा भजन–कीर्तनले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै मानिसको मनलाई शान्ति र आनन्द प्रदान गर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले परम्परागत संस्कृति संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा ताम्राकार समाजका विनोद ताम्राकारले शुभकामना मन्तव्य व्यक्त गर्दै भजन प्रशिक्षणले सहभागीहरूमा सांगीतिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गरेको बताउनुभयो।छ महिनासम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।समापन समारोहमा प्रशिक्षण प्राप्त प्रशिक्षार्थीहरूले विभिन्न भजन प्रस्तुत गरी आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकहरूको मन जित्न सफल भएको थियो।
कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका पदाधिकारीहरू, समाजका सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस प्रकारका सांस्कृतिक तथा धार्मिक कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।