ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो, ठूलो दुर्घटना हुनबाट जोगियो

Date: 2026-07-21
news-banner
ललितपुर - अविरल वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

सडक भासिएसँगै त्यसको छेउमा रहेका फर्निचर, क्याफे तथा किराना पसलसमेत जोखिममा परेका छन्। सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिने क्रममा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो।घटनाका बेला फर्निचरभित्र ६ जना रहेका थिए। बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू तत्काल भागेर बाहिर निस्किएकाले मानवीय क्षति हुन पाएन।

फर्निचरभित्र रहेका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर सञ्चालकले बताएका छन्। सडक भासिँदा परेको अत्यधिक दबाबका कारण तीमध्ये केही फलामका संरचना बाङ्गिएका छन्।

घटनापछि स्थानीयवासीले थप जोखिम रोक्न सम्बन्धित निकायसँग तत्काल सडक मर्मत, भित्ता सुदृढीकरण तथा जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्न माग गरेका छन्।




Leave Your Comments