काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना श्रावण (साउन) को पहिलो सोमबार आज देशभरका शिवालयहरूमा विशेष श्रद्धा र भक्तिभावका साथ पूजा–आराधना भइरहेको छ। राजधानीस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शन, जलाभिषेक र पूजाआजाका लागि भक्तजनहरूको उल्लेख्य भिड लागेको छ।
भगवान् शिवलाई अत्यन्त प्रिय मानिने श्रावण महिनाको पहिलो सोमबार विशेष महत्वका साथ मनाइँदै आएको छ। सनातन परम्पराअनुसार साउनका प्रत्येक सोमबार व्रत बस्ने, शिवलिङ्गमा जल तथा दूध चढाउने, जप–तप, अभिषेक र दान–पुण्य गर्ने चलन रहिआएको छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ।धर्मशास्त्रले श्रावण महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समयका रूपमा व्याख्या गरेको छ। त्यसैले साउनभर विशेषगरी सोमबारका दिन शिवालयहरूमा भक्तजनहरूको ठूलो उपस्थिति रहने गर्दछ।
साउन महिना भगवान् शिवसँग जोडिनुको धार्मिक आधार समुद्रमन्थनको प्रसंगसँग सम्बन्धित छ। पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो। उक्त विषले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान् शिवले लोककल्याणका लागि विष ग्रहण गर्नुभएको थियो। विषको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए। यही घटनाको स्मरणस्वरूप साउनभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा चलिआएको धार्मिक विश्वास छ।
सोमबार भगवान् शिवको प्रिय दिन मानिन्छ। संस्कृतमा ‘सोम’ शब्दको अर्थ चन्द्रमा हो। भगवान् शिवले चन्द्रमालाई आफ्नो जटामा धारण गर्नुभएको हुनाले उहाँलाई ‘चन्द्रशेखर’ नामले पनि चिनिन्छ।
श्रावणको पहिलो सोमबारका अवसरमा पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने भक्तजनहरूको सहज दर्शनका लागि आवश्यक व्यवस्थापन गरिएको छ।