ललितपुर - अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (International Day for Disaster Risk Reduction–IDDRR) को अवसरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा जलवायु परिवर्तनका चुनौती, विपद् पूर्वसूचना प्रणाली, खोज तथा उद्धार, खोजमूलक पत्रकारिता र विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनालगायतका विषयमा छलफल गरिएको थियो।
सम्मेलनको पहिलो सत्रमा हिमालय क्षेत्रको जलवायु उत्थानशीलता अभिवृद्धिका लागि आवश्यक रणनीति तथा सम्भावित मार्गहरूको खोजीसम्बन्धी विषयमा छलफल भएको थियो। जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिमलाई न्यूनीकरण गर्दै विपद् सामना गर्न सक्ने क्षमता विकास गर्ने विषयमा सत्र केन्द्रित थियो।
त्यसैगरी, दोस्रो सत्रमा सहरी खोज तथा उद्धारको क्षमता अभिवृद्धि, खोजमूलक पत्रकारिताको भूमिका तथा घरधुरीसम्म पूर्वसूचना प्रणाली पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो। यस सत्रमा कथा-वाचन तथा छोटो प्रस्तुतिमार्फत विपद् जोखिम न्यूनीकरणमा सूचना प्रवाह, सञ्चारमाध्यमको भूमिका र समुदायस्तरसम्म पूर्वसूचना पुर्याउनुको महत्त्व उजागर गरिएको थियो।
सम्मेलनको तेस्रो सत्रमा रसुवा–भोटेकोशी बाढीपछिको आपत्कालीन प्रतिकार्य, पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी प्रस्तुतीकरण र छलफल गरिएको थियो। बाढीपछिको उद्धार तथा राहत कार्य, प्रभावित समुदायको पुनर्स्थापना र भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका उपायबारे अनुभव तथा अभ्यासहरू प्रस्तुत गरिएका थिए।
चौथो सत्रमा संघ, प्रदेश र स्थानीय सरकारबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा गरिएका अभ्यासहरूको समीक्षा गरिएको थियो। विभिन्न तहका सरकारबीच समन्वय, विपद् व्यवस्थापनको प्रभावकारिता र आगामी दिनमा अपनाउनुपर्ने उपायका विषयमा छलफल भएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च (NPDRR) को संयोजन तथा DPNET र ICIMOD को सहयोगमा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनलाई सफल बनाउन विभिन्न संघसंस्थाले साझेदारी गरेका थिए।
सम्मेलनले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रभावकारी प्रतिकार्य तथा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा अनुभव आदानप्रदान गर्दै संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायबीच सहकार्यको महत्त्वलाई जोड दिएको छ।