३६५ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच भोलिदेखि सुरु हुँदै

Date: 2026-11-12
news-banner
ललितपुर । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा सञ्चालन हुँदै आएको विश्वप्रसिद्ध ३६५ वर्ष पुरानो कार्तिक नाच भोलिदेखि सुरु हुने भएको छ। यस वर्षको कार्तिक नाच १२ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै सञ्चालन गरिने भएको हो।

कार्तिक नाचबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले नाचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए। उनले मल्लकालीन समयदेखि निरन्तरता पाउँदै आएको यस ऐतिहासिक नाचको संरक्षण, संवर्द्धन र निरन्तरताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्षले पनि कार्तिक नाच नेपालको मौलिक कला, संस्कृति र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको कार्तिक नाच नेपालको मौलिक नाट्य परम्परा, धार्मिक आस्था तथा सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीकका रूपमा रहँदै आएको छ। करिब ३६५ वर्ष पुरानो इतिहास बोकेको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, धार्मिक आख्यान तथा पौराणिक कथामा आधारित प्रस्तुति प्रदर्शन गरिन्छ।

यस वर्षको कार्तिक नाच कात्तिक २७ गते शुक्रबारदेखि मंसिर ८ गतेसम्म सञ्चालन हुनेछ। हरेक दिन साँझ ७ बजेदेखि पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन गरिनेछ।

कार्तिक नाचको १२ दिनको कार्यक्रम तालिका

१. कात्तिक २७ गते, शुक्रबार – भक्त सुदर्शन प्याखँ
२. कात्तिक २८ गते, शनिबार – माधवनारायण (जुजु गोपिचन्द्रया बाखँ)
३. कात्तिक २९ गते, आइतबार – माधवनारायण (जुजु कामसेनया बाखँ)
४. कात्तिक ३० गते, सोमबार – माधवनारायण (देवी प्याखँ)
५. मंसिर १ गते, मंगलबार – माधवनारायण (जुजु विक्रमादित्यया बाखँ)
६. मंसिर २ गते, बुधबार – बायः प्याखँ
७. मंसिर ३ गते, बिहीबार – बायः प्याखँ (कौला बिचा)
८. मंसिर ४ गते, शुक्रबार – जलशयन (मधु–कैटभ वध)
९. मंसिर ५ गते, शनिबार – वराह अवतार (हिरण्याक्ष वध)
१०. मंसिर ६ गते, आइतबार – नृसिंह अवतार (हिरण्यकश्यपु वध)
११. मंसिर ७ गते, सोमबार – वस्त्रहरण
१२. मंसिर ८ गते, मंगलबार – दधि

कार्तिक नाचमा नृत्य, अभिनय, संगीत र संवादको विशिष्ट संयोजन पाइन्छ। यसले धार्मिक तथा आध्यात्मिक सन्देश प्रवाह गर्नुका साथै तत्कालीन समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अवस्थालाई समेत उजागर गर्दै आएको छ।






Leave Your Comments