ललितपुर - ललितपुर महानगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित बुधबार अभियान सुरु गरिएको हो।
अभियानको सुरुवातमा महानगरपालिकाले सचेतनामूलक र्याली आयोजना गरेको थियो। महानगरपालिकाबाट सुरु भएको र्याली जावलाखेल, मानभवन, पूर्णचण्डी र गावाहाल हुँदै पुनः महानगरपालिकामा पुगेर सम्पन्न भएको थियो ।र्यालीमा सहभागीहरूले ‘जातीय विभेद हटाऔँ, समानताको समाज बनाऔँ’, ‘महिला पुरुष सहकार्य, लैङ्गिक हिंसारहित समाजका लागि अपरिहार्य’ तथा ‘लैङ्गिक हिंसाविरुद्धको अभियान घर र वडाबाटै सुरु गरौँ’ लगायतका सन्देशमूलक नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले हिंसा कुनै जाति, वर्ग, लिङ्ग वा उमेर समूहमा मात्र सीमित नरहेको बताइन्। महिला, पुरुष तथा बालबालिका सबै कुनै न कुनै रूपमा हिंसाको सिकार बन्ने गरेको उल्लेख गर्दै उनले हिंसा अन्त्यका लागि व्यक्ति स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
‘हिंसा काय, वाग र चित्तबाट हुने गरेको छ। त्यसैले हिंसा अन्त्य गर्न सबैभन्दा पहिले आफैँबाट सुरुवात गर्नुपर्छ। म हिंसामा परिरहेको छु कि छैन र मबाट अरूमाथि हिंसा भइरहेको छ कि छैन भन्ने विषयमा यो १६ दिनसम्म आफैँले आफैँलाई मूल्याङ्कन गर्न जरुरी छ। जबसम्म मबाटै सुरुवात हुँदैन, तबसम्म हिंसाको अन्त्य हुँदैन,’ उनले भनिन् ।उनले हिंसा नराम्रो व्यवहार र प्रवृत्तिको उपज भएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि आजैदेखि व्यक्तिगत सोच, व्यवहार र आचरणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताइन्।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले हिंसापीडितको संरक्षण, दण्डहीनताको अन्त्य, न्यायको सुनिश्चितता र हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता जनाउने उद्देश्य राखेको छ।