परम्परागत दाफा भजन तथा लोकबाजा प्रशिक्षण सम्पन्न

Date: 2026-11-21
news-banner
ललितपुर। रञ्जितकार समाजको आयोजना तथा ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा सञ्चालित दुई महिने एडभान्स दाफा भजन तथा लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ।

प्रशिक्षण समापन कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मौलिक संस्कृति, परम्परागत बाजागाजा तथा सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मात्रै यसको संरक्षण र निरन्तरता सम्भव हुने बताउनुभयो। नयाँ पुस्ताले परम्परागत बाजा तथा संस्कृति सिक्दै गएकाले मौलिक कला र संस्कृति लोप नहुने विश्वास व्यक्त गर्दै उहाँले यसको संरक्षणमा महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उपप्रमुख शाक्यले आधुनिक समयमा संस्कृति संरक्षणसँगै नयाँ पुस्ताको भविष्य र आर्थिक सशक्तीकरणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई कम्प्युटरलगायतका आधारभूत सीपमूलक तालिम प्रदान गर्दै समाजलाई आर्थिक रूपमा समेत सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो।


त्यसैगरी, ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक एवं वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले महानगरपालिकाले २९ वटै वडामा परम्परागत बाजागाजा, कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।उहाँले परम्परागत बाजागाजा र संस्कृतिको संरक्षण प्रशिक्षणमा मात्र सीमित नराखी समाजका सदस्यहरूबीच नियमित भेटघाट र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। महिनामा कम्तीमा एकपटक समाजका सदस्यहरू भेला भएर चियापान तथा बाजागाजा प्रस्तुतिजस्ता कार्यक्रम गर्न सके आपसी एकता र सांस्कृतिक सम्बन्ध अझ बलियो हुने उहाँको भनाइ थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरूले परम्परागत दाफा भजन तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै कार्यक्रममा उपस्थित अतिथिहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

यस प्रशिक्षणले नयाँ पुस्तामा परम्परागत दाफा भजन, लोकबाजा तथा मौलिक सांस्कृतिक सीप हस्तान्तरण गर्दै स्थानीय कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Leave Your Comments