काठमाडौ - भारतको उत्तराखण्डस्थित पवित्र गंगोत्री धामबाट ल्याइएको गङ्गाजल सोमबार बिहान विधिपूर्वक आराध्यदेव श्री पशुपतिनाथ भगवानलाई अर्पण गरिएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस परम्पराले यस वर्ष २६औँ वर्षमा प्रवेश गरेको छ।
बडाकाजी अमरसिंह थापाको पालादेखि सुरु भएको मानिने यस परम्पराअनुसार प्रत्येक वर्ष तिहारपछि गंगोत्री धामबाट पवित्र गङ्गाजल ल्याई पशुपतिनाथमा अर्पण गर्ने गरिन्छ। बीचमा केही समय अवरुद्ध भएको यो परम्परालाई गंगोत्री धामका रावल (मुख्य पुजारी) श्री शिव प्रकाश महाराजको विशेष पहलमा पुनः सञ्चालनमा ल्याइएको थियो।
सोमबार बिहान ७ बजे गौशाला चोकबाट सुरु भएको धार्मिक कार्यक्रममा भक्तजन तथा धर्मप्रेमीहरूको सहभागिता रहेको थियो। धार्मिक विधि र परम्पराअनुसार गंगोत्री धामबाट ल्याइएको पवित्र गङ्गाजल पशुपतिनाथ भगवानलाई अर्पण गरिएको हो हिमालयको पवित्र तीर्थस्थल गंगोत्री धाम र नेपालको आराध्यदेव पशुपतिनाथबीचको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य बोकेको यस कार्यक्रमले दुई तीर्थस्थलबीचको ऐतिहासिक सम्बन्धलाई समेत उजागर गरेको छ।
सनातन धर्मको आस्था, विश्वास र परम्परालाई पुस्तान्तरण गर्दै आएको यस धार्मिक अनुष्ठानले नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।