रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्दै लगानी भित्र्याउने उद्देश्यले आगामी मङ्सिर २५, २६ र २७ गते तीनदिने ‘सुनापति गाउँपालिका पर्यटन प्रवर्द्धन तथा लगानी वर्ष (भ्रमण वर्ष) विशेष महोत्सव’ आयोजना हुने भएको छ।
महोत्सवबारे जानकारी दिन गाउँपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेको हो। पत्रकार सम्मेलनमार्फत गाउँपालिकाले महोत्सवको तयारी, उद्देश्य तथा कार्यक्रमका प्रमुख आकर्षणबारे जानकारी गराएको छ।गाउँपालिकाको पर्यटकीय सम्भावनाको पहिचान, प्रचारप्रसार तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवको उद्घाटन आगामी मङ्सिर २५ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रमुख अतिथिका रूपमा गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ।तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सुनापति गाउँपालिकाभित्र उत्पादन भएका अर्गानिक कृषिजन्य सामग्री, स्थानीय उपभोग्य वस्तु तथा हस्तकलाका सामग्रीहरूको प्रदर्शनी र बिक्री गरिनेछ। विशेषगरी स्थानीय सीप, कला, संस्कृति र मौलिक पहिचान झल्काउने हातले बुनेका गलैँचा, परम्परागत थान्का चित्रकला लगायतका उत्पादन महोत्सवका मुख्य आकर्षण रहनेछन्।
महोत्सवले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन, उद्यमशीलताको विकास गर्न तथा पर्यटन क्षेत्रमा निजी र बाह्य लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सुनापतिका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनको व्यापक प्रचारप्रसारमार्फत गाउँपालिकालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसमेत महोत्सवले लिएको छ।
गाउँपालिकाले महोत्सवबाट पर्यटन विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र समग्र आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।