पशुपतिको चलिरहेको कोटीहोम तथा महायज्ञमा आचार्य कृष्ण दमाईबाट प्रबचन

Date: 2024-08-09
news-banner
अर्चना झा/रासस 
ललितपुर गोदावरी २५ साउन : मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाईले व्यासबाट प्रवचन दिनु भएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका  बैतडीका कृष्ण दमाईले आज प्रबचन दिनु भएको हो।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यास पीठमा राखी अभिनन्दन गर्नुभएको थियो ।   व्यसाबाट आचार्य कृष्णले भन्नुभयो 'एउटस सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरुमा मलाई समावेश गराउने आदरणीय गुरुहरुमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु ।'
 उहाँले भन्नुभयो "दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोममा व्यासमा बसी प्रवचन गर्न दिनुभएकोमा म श्री विजयकृष्ण मुर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु । यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन ।"
 उहाँले भन्नुभयो " हामीमा धार्मिक रुपले विध्वंस मच्चाइ एक–अर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ । अहिलेसम्म हिन्दू सनातनले सहँदै आएको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एक-एक शब्द होइन, लाखौं शब्दले पूर्व(पश्चिम, उत्तर(दक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ । मेरा लागि यो एतिहासिक कोटीहोम स्वर्गमय बनेको छ ।"
  मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजले नयाँ युगको सुरुवात भएको बताउनु भयो । उहाँले भन्नुभयो  "दमाई परिवारबाट आचार्य गर्नुभएका कृष्ण दमाईलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई पनि गर्व लागिराखेको छ । उहाँले निकै गहकिलो प्रबचन दिनु भएको छ । यो छुवाछुत बिरुद्धको ठु्लो क्रान्ति हो ।  उहाँले भन्नुभयो बोलीले मात्र होईन व्यबहारले नै सामाजिक विभेद हटाउनु पर्छ त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो । "
साउनभर चल्ने कोटिहोम तथा महायज्ञमा अहिलेसम्म २५ लाख भन्दा बढी भक्तजनहरू सहभागी भएका छन् । दैनिक बिहान ८ बजेदेखि ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ परायण गर्ने गरिएको छ ।

 अर्चना झा रासस

Leave Your Comments