ललितपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, “अब एमाले मात्रै एक भएर पुग्दैन, सिङ्गो लोकतान्त्रिक शक्ति मिलाएर अघि बढ्नुपर्छ ।”
महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू अकल्पनीय भएको भन्दै ती घटनाका पछाडि विदेशी शक्ति, राजावादी, माओवादी, समाजवादी, स्वतन्त्र भनिने समूह र रास्वपाको मिलेमतो रहेको बताए । उनका अनुसार यी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि योजनाबद्ध घेराबन्दी गरिरहेका छन् ।
उनले भने, “बदलिँदो ट्रेन्ड हामीले बुझेका हौं, तर जति गम्भीर हुनुपर्ने हो त्यो हुन सकेन । देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेका छन्, त्यसका विरुद्ध सचेत हुनुपर्छ ।”
पोखरेलले पार्टी र कार्यकर्तालाई गाउँगाउँ र घरघरमा पुगेर एमालेको योगदान जनतासमक्ष पु¥याउन आग्रह गरे । उनले नाकाबन्दी, चुच्चे नक्सा जारी, सीमा विवादमा दृढ उपस्थिती, अन्तर्राष्ट्रिय फोरममा नेपालको पक्षमा हिम्मतका साथ उभिनु र पूर्वाधार विकासमा पार्टी नेतृत्वको भूमिकालाई जनताले सम्झनुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य शुशीला नेपालको नेतृत्वमा देउसी–भैलो प्रदर्शन गरिएको थियो ।
त्यस अवसरमा एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराई , केन्द्रीय सदस्यहरू हरिकृष्ण ब्यन्जनकार, रुपनारायण श्रेष्ठ, बाबुराम थापा, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुईटेल लगायतको उपस्थिती रहेको थियो ।