ललितपुर (गोदावरी) २५ मङ्सिर: नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले "तरकारीमा लाग्ने माटो जन्य रोगहरूको व्यवस्थापनबाट कृषकहरूको जीविकोपार्जन तथा खाद्य सुरक्षामा सुधार" परियोजनाको अन्तरगत तरकारी वालिमा कलमि प्रविधिको विकास र विस्तार गर्दै आएको छ।
परियोजना अन्तरगत देशभर किसानहरूको सहभागितामा परिक्षण तथा तालिमहरू संचालन गरिएका छन्। यसै क्रममा, मंसिर २५ र २६ गते बागमती प्रदेशस्तरिय "तरकारी ग्राफ्टिंग तालिम" खुमलटारस्थित राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रमा आयोजना भएको राष्ट्रिय बालिरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार तथा प्रमुख अनुसन्धानकर्ता वैज्ञानिक डा.रामबहादुर खड्काले जानकारी दिनुभयो ।
तरकारी बालीमा माटोबाट सर्ने रोगहरूको दिगो व्यवस्थापनका लागि अवायवी माटो निरमलिकरण र कलमि प्रविधि जस्ता उन्नत विधिहरूको प्रयोग गरिंदै आएको छ। यस परियोजनाले माटोबाट सर्ने रोगका कारक जिवहरू जस्तै जुका, ढुसी, र ब्याक्टेरियाबाट हुने समस्याको समाधानमा नवीनतम प्रविधिहरू उपलब्ध गराउँदै कृषकको उत्पादनमा सुधार ल्याउन योगदान पु¥याइरहेको खड्काले बताउनुभयो ।नार्कले तरकारीमा कलमि प्रविधि तथा अन्य रोग व्यवस्थापन विधिहरूको अनुसन्धान, विकास र प्रवर्द्धन गरी कृषकहरूको आर्थिक स्थिति र खाद्य सुरक्षामा सुधार गर्न प्रतिवद्धता जनाएको छ।
तालिममा बागमती प्रदेशका ३५ जना अगुवा कृषक सहभागी छन्। कार्यक्रममा नार्कका पुर्व मुख्य वैज्ञानिक राम बहादुर केसी, डा. टीका चापागाँई, डा. अजय रत्न बज्राचार्य लगायतका वैज्ञानिकहरूले सहजीकरण गरिरहेका छन्। उद्घाटन सत्रमा नार्कका योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका निर्देशक वैकुण्ठ अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
अर्चना झा रासस