स्थानीय पहिचान र सम्भावना प्रवर्धनका लागि काठमाडौं महानगरपालिका वडा नं १५ को आयोजनामा यही फागुन १० देखि १७ गतेसम्म प्रथम 'स्वयम्भू महोत्सव' आयोजना हुने भएको छ।
वडाको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवबाट आझेलमा परेका प्राचीन स्मारक पर्यटकीयस्थलका रुपमा प्रवर्धन हुने विश्वास वडा अध्यक्ष इश्वरमान डंगोलको बताए ।वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।स्वयम्भूको भुईखेल चौरमा महोत्सव हुनेछ ।
भगवान् पाउको धर्मचक्र पार्कमा प्रदर्शनी र वडास्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ । महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने आयोगकको भनाई छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तको संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको अध्यक्ष डङ्गोलले बताए ।
रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुने महोत्सवमा ‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू पनि हुने आयोजकको भनाइ छ । महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।