सन्तोष दहाल, काठमाडौँ । साहित्यकार तथा कवयित्री सरस्वती घिमिरेको एकल मुक्तकवाचन कार्यक्रम सम्पन्न भएको छ ।
बन्धु फिल्म्स प्रालिको आयोजनामा सोमबार चलचित्र विकास बोर्ड नेपालको सभाहलमा आयोजित एकल वाचन कार्यक्रममा घिमिरेले आफुद्वारा लिखित मुक्तकहरु वाचन गरेकी हुन् ।
एकल मुक्तक वाचन कार्यक्रमका सभापतिपति साहित्यकार खेमराज दाहाल रहेका थिए भने बरिष्ठ कलाकार एबम कलाकार संघका अध्यक्ष मोहन निरौला प्रमुख अतिथिको रुपमा सहभागी थिए । उक्त अवसरमा बन्धु फिल्म्स प्रालिले कवयित्री घिमिरेलाई साहित्य क्षेत्रमा निरन्तर कलम चलाएको योगदानको सम्मान स्वरुप नगद रु १० हजार र कदरपत्रसहित सम्मान गरेको छ ।
घिमिरेले एकल मुक्तक वाचनमा आफ्ना २० वटा मुक्तकहरु वाचन गरेकी छिन् । उनका रचनामा जीवन जगत, देशप्रेम , मातृत्व सहित आफूले समेत देखेका र भोगेका सङ्घर्षका प्रसंगहरु उजागर गरिएका छन् । कार्यक्रममा शुभकामना व्यक्त गर्दै साहित्यकार रमेश शुभेच्छुले नारी जीवन र सिँगो देशका समस्या तथा दु: खसुखलाई सरस्वती घिमिरेका रचनामा उजागर भएको बताए । साथै जनयुद्धका समयमा द्वन्द व्यवस्थापन नभएका विषयहरुको साथै समाजभित्रको वर्गीय खाडललाई समेत मार्मिक रुपमा प्रस्तुत गर्ने घिमिरेले मानिसलाई अभिप्रेरित गर्ने सुक्तिमय मुक्तकहरुको रचना गरेर साहित्यमा योगदान दिएको चर्चा गरे ।
यसैगरी व्यवसायी राजेन्द्र सङ्ग्रौलाले साहित्यिक राज्य तथा नीजि क्षेत्रले साहित्य र सिर्जनाको उजागरमा लगानी गर्न सके सर्जकहरुको प्रतिभा र सिर्जना अझै फस्टाउन सक्ने भन्दै सरस्वतीका रचनाले नयाँ पुस्तालाई पनि असल साहित्यिक मार्गमा डोर्याएको बताए ।
गीतकार मिलन पोखरेलले सामाजिक राजनीतिक रुपान्तरण र परिवर्तनमा साहित्यका कलमको आवाजले सिंगो देश बदल्न र बनाउन सक्ने भन्दै कवि लेखकहरुले समाजभित्रको आत्मालाई चिन्ने उल्लेख गरे । वरिष्ठ कलाकार मोहन निरौलाले जीवन जगत र आफुले देखेभोगेका कुराहरुलाई सरस्वती घिमिरेले साहित्यको माध्यमबाट उजागर गरेको भन्दै आगामी उज्ज्वल भविष्यसहित साहित्य यात्रामा अनवरत निरन्तरताको शुभकामना व्यक्त गरे ।
कलाकार उत्तम केसीले अबका दिनमा सरस्वतीको साहित्यिक पाईलाहरु कहिल्यै नरोकिउन भन्ने शुभकामना व्यक्त गरे । बन्धु फिल्म्स प्रालिका अध्यक्ष एबम वरिष्ठ कलाकार लय सङ्ग्रौलाले अत्यन्तै रसिक ढंगले कार्यक्रमको सञ्चालन गरेका थिए ।
विगत २ दशकदेखी साहित्य क्षेत्रमा लागेकी घिमिरेले केही चलचित्रहरुमा समेत अभिनय गरिसकेकी छिन् । उनका हालसम्म रोकिएका पाईला(गद्यकविता सङ्ग्रह), शोकाञ्जली शोककाव्य, गहिरो घाउलाई अक्षरको मलम, प्रहार, भावनाका थुङ्गा जस्ता कृतिहरु प्रकाशित छन् । हाल उनी चलचित्र विकास बोर्ड नेपालको महिला चलचित्रकर्मी सशक्तीकरण समितिको सदस्यको रुपमा समेत कार्यरत छिन् ।