सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई पर्यटनको हव बनाउनुपर्ने बताउनुभएको छ । पर्यटनबाटै नेपालको सम्वृद्धी सम्भव हुने उहाँले बताउनुभयो ।
सोमबार लमजुङको स्मार्ट भिलेज घलेगाउँमा आयोजित पर्यटन रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले पर्यटनबाट सम्वृद्धि हाँसिल गरेर गरिबी अन्त्य गर्ने सरकारको सपना रहेको बताउनुभयो ।“दुनियाँमा हरेक देशमा एउटा नेताले सपना देखेको हुन्छ । आफ्नो देशलाई कस्तो बनाउने । आफ्नो प्रदेश, जिल्लालाई कस्तो बनाउने”,सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “हाम्रो सरकारको पनि एउटा सपना छ । देशलाई पर्यटनको हव बनाउने । पर्यटनबाट गरिबी हटाउने । सम्वृद्धि हाँसिल गर्ने । गरिबी हटाउने ।”
नेपालका सबै गाउँहरु पर्यटनको सम्भावना बोकेका गाउँहरु रहेको उहाँले बताउनुभयो । गाउँ पर्यटनको विकासबाट जीवनस्तर उकास्न सकिने उहाँले बताउनुभयो । “हाम्रा गाउँहरु प्रकृतिले सुन्दर छन् । संस्कृतिले भरिभराउ छन् । एउटा जीवित संग्राहलय हुन्”, उहाँले भन्नुभयो, “हाम्रा गाउँका प्रचुर सम्भावनालाई प्रयोग गरेर पर्यटनको विकास गर्न सकिन्छ ।”
उहाँले घलेगाउँले हाँसिल गरेको प्रगति समाजवाद उन्मुख रहेको बताउनुभयो । घलेगाउँले गरेको सामूहिक होमस्टे, चिया खेती, भेडा पालन, स्वास्थ्य बिमा, एक घर एक धारा जस्ता कार्यक्रमले समाजवादको आधार तयार गरेको उहाँले बताउनुभयो ।