पर्यटकको पर्खाइमा अपीनाम्पा संरक्षण क्षेत्र

Date: 2024-06-18
news-banner
 अर्चना झा( रासस ) 

नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपीनाम्पा संरक्षण क्षेत्र मनै लोभ्याउने विशाल सुन्दर शान्त हिमाल भएको ठाउँ हो । 

सुन्दर शान्त वातावरण, विभिन्न ठाउँको दृष्य अथवा जैविक विविधतालाई सजिलैसँग देख्न, अवलोकन, खोज अनुसन्धान गर्न सकिन्छन् । खनिज पदार्थ, खानी, दुर्लभ पशुपंक्षी, बहुमुल्य जडिबुटी, देवस्थल आदि भएको यो ठाउँ हुनाले यस क्षेत्रमा सबैका लागी पुग्नै पर्ने एक गन्तव्य हो । 
यति मात्रै नभएर यस क्षेत्रलाई देवभूमि पनि भनिन्छ ।प्राचीन कालका देवी देउताका मन्दिरहरु पनि याहाँ अवस्थित छन् । यस क्षेत्रमा महर्षि वेदव्यासले तपस्या गरी वेद, पुराण, महाभारत आदिमा यस क्षेत्रलाई वणर्न गर्नुभएको थियो। अपिनाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिपूणर् क्षेत्र हो । यस क्षेत्रमा पाइने जडीबुटी, लोपोन्मूख वन्यजन्तु, प्राकृतिक सम्पदाहरु यसकामुख्य आकर्षण हुन् । 

पर्यटकहरूका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ । यो क्षेत्रमा बर्षको सात महिना हिउँले ढाकिएको हुन्छन्। त्यसकारणले यहाँका बासिन्दाहरू हिउँ न पर्ने अरु ठाउँमा बास बस्न जान्छन् । दार्चुला सदरमुकामबाट भारतको बाटो हुँदै गाडीमा करिब ४ घन्टाको यात्रापछि सितापुलबाट एक घन्टा पैदल हिँडेर व्यास गाउँपालिकाको वडा १ छाङ्गरु अपिनाम्पा संरक्षण क्षेत्रमा प्रवेश गरिन्छन् । भारतको बाटो हुँदै नेपाल जानलाई छ महिनाको भारतीय अनुमति पत्र र नागरिकता लिएर जानु पर्दछ । नेपाल र चीनसँग सिमाना सम्बन्धी विवादित क्षेत्र भएको हुनाले अनुमति पत्र बनाएर जाने नियम छ ।  
नेपाल सरकारले सुदूरपश्चिम जैविक विविधता बोकेको अपिनाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणगरेको हो । यस क्षेत्रभित्र सुदुरपस्चिम प्रदेशकै अग्लो अपिहिमाल पर्दछ। अपिहिमालको उचाई सात हजार एकसय ३२ मिटर रहेको छ। दार्चुला जिल्लाका उत्तरी भेगका यस क्षेत्र अन्तर्गत ४ ओटा वडा दुहू गाउँपालिकाका ५ वडा अपिहिमाल गाउँपालिकाका ६ वडा र मार्मा गाउँपालिकाको सम्पुणर् भाग त्यस्तै नौगाड गाउँपालिकाका ५ वडा र महाकाली नगरपालिकाका २ वडा गरि जम्मा ३१ वडा हरु समेट्दै १ हजार ९ सय ३ वर्ग किलोमीटरमा अपि नाम्पा संरक्षण क्षेत्र फैलिएको छ ।५३९ मिटर देखि ७ हजार १ सय ३२ मिटरको उचाइसम्ममा रहेको यस क्षेत्रको पूर्व तर्फ बझाङ जिल्लाको सिमाना, पश्चिम तर्फ महाकाली नदि भारतको उत्तराखण्ड जिल्लाको अन्तराष्ट्रिय सिमाना , उत्तर तर्फ चीनको स्वशासित क्षेत्र तिब्वतको र दक्षिण तर्फ नौगाड गाउँपालिका सम्म फैलिएको छ । 
यस संरक्षण क्षेत्रमा बसोबास गर्ने समुदायहरूको आठ हजार ९ सय ७९ घरधुरीमा कुल जनसंख्या ५९ हजार ६ सय ९ रहेका छन् । सबभन्दा बढी क्षेत्री जाति ६३.६% ले बसोबास गर्दछन् । यहाँका बासिन्दाहरू हिन्दू धर्मलाई मानी प्रकृति पूज्नेमा अस्था बढी राख्दछन् । पर्वहरूमध्ये ध्युउला, गौरा, विसु यहाँका प्रमुख चाडपर्व हुन् । सो क्षेत्रमा २५ प्रकारका अस्तन्धारी जनावरहरू, २४३ प्रजाति भन्दा बढी चराहरू, ३५ प्रकारका माछाहरू र ७५ प्रकार भन्दा बढी जडीबुटीहरु आदि पाइन्छन् । यहाँ मनमोहक फाटँहरु, गुफा, झरना, सुन्दर ताल, का साथै मनै लोभ्याउने हिमालहरु रहेका छन् । उक्त क्षेत्र भित्र हिउँ चितुवा, घोरल, कस्तुरी मृग, हिमाली कालो भालु, डाँफे, मुनाल, हिँउ मयुर जस्ता दुर्लभ वन्यजन्तु रहेका छन् । त्यस्तै जटामसी, यार्सागुम्बा, पाचँऔले, कुड्की, सुगन्धबाल, तालिसपत्र, लौठसल्लो, पाखनवेद, दाल चिनी, रिठ्ठा, ओखर आदि जस्ता बहुमुल्य जडिबुटी पाइने गर्दछन् ।

खासगरी यार्सा गुम्बा सङ्कलन गर्नका  लागि संरक्षण क्षेत्रको स्वीकृत व्यवस्थापन कार्ययोजनामा उल्लेख भए बमोजिम  प्रत्येक आर्थिक वर्षमा जम्मा आठ सय ५० केजी राजस्व लिई जिल्ला बाहिर निकासा दिने छोडपुर्जी कार्यालयले दिने गर्दछन् अपिनम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख (वार्डेन) विनय कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार, “यार्सा गुम्बा प्रतकेजी ३१ हजार राजस्व दाखिला गरी जिल्ला बाहिर यार्सा गुम्बा निकासा हुने गरेका छन् । चालु आर्थिक वर्ष २०८० / ०८१ देखि हालसम्म जम्मा राजस्व सङ्कलन रकम १ करोड ८० लाख ८६ हजार आठ सय पाँच रुपैया भएको छ, भने गतवर्ष आ.वमा राजस्व रकम १ करोँड ५२ लाख १६ सय २५ रुपैया सङ्कलन भएको थियो । गत वर्षभन्दा यस वर्ष आम्दानी बढेको झाले बताउनुभयो ।“  

यो आर्थिक वर्षको जेठसम्म संरक्षण क्षेत्र भित्रका यार्सा संकलन गर्न जाने ७ सय ५ जना रहेका छन् । संरक्षण क्षेत्र भित्रको लागि कार्ड लिएवापत ५ सय शुल्क तिर्नुपर्ने, जिल्ला भित्रका लागि दुई हजार र जिल्ला बाहिरका लागि तीन हजार शुल्क तिर्नु पर्ने हुन्छ।  यस कार्यालयमा कर्मचारीको अभावले गर्दा संरक्षण क्षेत्रमा नियमित गस्ती गर्न सकिरहेको छैन । कार्यालयको दरबन्दी अनुसार ६७ जना छन् भने अहिले कर्मचारीको सङ्ख्या ३३ ओटा छन् । पोस्ट आठ वटा र दुई ओटा सेक्टर रहेका झाले जानकारी दिनुभयो ।         

विश्वकै बहुमूल्य जडीबुटी एवं यार्सा गुम्बा भएको ठाउँमा खुल्ला क्षेत्र भएको हुनाले विशेष गरी राजस्व न तिरी यार्सा  टिप्न आन्तरिक तथा विदेशी मानिसहरू जान्छन् । त्यहाँ वर्षभरिको छाक टार्नका लागि पेशागत स्थानीय बासी र व्यपारिहरू यार्सागुम्बा टिप्ने जाने  गर्दछन  । उक्त ठाउँमा कति र कस्तो मानिसले प्रवेश गर्यो त्यो यकिन गर्न नसकेको प्रमुखले जानकारी दिनुभयो । बढी  जसो भारतीय  मूलकका नागरिक यो ठाउँमा  यार्सा गुम्बा टिप्न आउने गर्दछन   । विदेशीहरूको हकमा  नेपाल सरकारसँग यार्सागुम्बा सम्बन्धी राजस्व सङ्कलन गर्ने नियम, ऐन कानुन नभएकोले उनीहरूसँग राजस्व लिन कठिनाइ भएको झाले बताउनुहुन्छ । यो नीति नियम सरकारले बनाइदिएको भए नेपाल सरकारको ढुकुटीमा करोडौँ  राजस्व सङ्कलन हुने थियो । अब छिटो नै संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनर्गठन पश्चात् यार्सा गुम्बा सङ्कल एकद्वार प्रणाली बनाउने र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनमा यस कार्यालयले प्रक्रिया अगाडि बढाउने प्रमुख झाले बताउनु भयो ।

अपिनाम्पा संरक्षण क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्र्याकिङ गर्न र घुम्न आउँदछन् । अपिनाम्पा संरक्षण क्षेत्र प्राकृतिक विविधताले तथा जडीबुटीले भरिपुणर् भएकाेले यसमा आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउन यातायातको पहुँच, प्रचारप्रसार लगायतका कुराहरूमा सबैले ध्यान दिनुपर्ने कार्यालय प्रमुख झाको भनाई छ  ।  

समुद्री सतहबाट ५ सय ३८ मिटर देखि ७ हजार १ सय ३२ मिटरसम्मको उचाइमा रहेको अपिनाम्पा संरक्षण क्षेत्र भित्र अपी हिमालको उचाइ ७ हजार १ सय ३२ मिटर रहेको छ, त्यस्तै नाम्पा हिमाल ६ हजार ७ सय ५७ मिटर रहेको छ भने व्यास हिमालको ६ हजार ६ सय ७० मिटर उचाईमा अवस्थित छन् । त्यसैभित्रका केहि क्षेत्र ब्रह्मदह, रानीकोट, थाइसैनमा मनमोहक फाँटहरु हेर्न पाइन्छ । 
अपिनाम्पा संरक्षण क्षेत्रमा रहेको ब्रह्मदह रानीकोट क्षेत्र धेरै गन्तव्यहरु मध्ये एक गन्तव्य हो । प्रचारप्रसारको अभाव र भौगोलिक विकटताको कारण नेपालतर्फ यातायातको बाटो समेत नहुनु यहाँको मुख्य समस्या हो । अहिले नेपाल सरकारले चीनसँगको जोड्ने नाका टिङ्कर सम्म  गाडी गुड्ने बाटो बनाउँदैछन् । त्यस्तै आन्तरिक तथा बाह्य पर्यटकलाई संरक्षण क्षेत्र भित्र आकर्षित गर्नका लागि तिनै तहका सरकारले भौतिक संरचनामा सुधार, जडीबुटी प्रशोधन केन्द्र, पर्यटक लोभ्याउने प्याकेज ल्याउनुपर्ने अपीनाम्पा संरक्षण क्षेत्रका रेन्जर विनोद जेठारा क्षेत्रीको भनाइ छ ।        

 अपिनम्पा संरक्षण क्षेत्र कार्यालयबाट अपिनाम्पा बेस क्याम्प सम्म हिँडेर पुग्न लगभग ६८ किलोमिटर दुरी छ । दार्चुलाबाट नजिक पर्ने तिब्बतको कैलाश मानसरोवर धर्मस्थल यात्रा तत्काल खोल्दा धेरै पक्षबाट व्यवसायी, सरकार र नागरिकलाई समेत फाईदा हुनेछन् । प्राकृतिक जैविक विविधताको खानी सो संरक्षणक्षेत्रका लागि सरकारले प्रचारप्रसार गर्न सके अझै पर्यटक भित्र्याउन सकिने देखिएको छ । यसका साथै यातायातको सहज पहुँच स्थापित हुनसकेमा पनि सो संरक्षण क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सकिने भए यो क्षेत्र पर्यटकको पर्खाइमा रहेको  क्षेत्रीको बुझाई छ  ।

दार्चुला जिल्लामा यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था संघ र प्रदेश सरकारले यथाशीघ्र गर्नुपर्ने र जडीबुटसङ्कलन गरेको भण्डारण गर्दै प्रशोधन केन्द्र बनाउने र मूल्य तोकी बजारीकरणको व्यवस्था गर्दिन दार्चुलाका स्थानीयबासी दीपक खातीको भनाई रहेको छ ।  
  यहाँका धेरैजसो पुरुषहरू भारतमा रोजगारीका लागि जान्छन् भने महिलाहरू मेलापाती देखि घरको सबै जिम्मेवारी लिने गर्दछन् । यहाँका बासिन्दा हरूको मुख्य बजार महाकाली नदीलेले छुट्याएको छिमेक भारत देशको धार्चुला र पिथौडागढ बजार हो । यहाँका बासिन्दाहरू शिक्षा, शिप र स्वास्थ्यका लागि पनि भारत जाने गर्दछन् । यहाँका स्थानीय बासीहरुले भारतसँग रोटीबेटीको सम्बन्ध राखेकाे छ । यहाँसम्म की कुलदेवतालाई पुज्नको लागि एकअर्काको देशमा जानुपर्ने भएको देखिन्छन् । जातजाति, धर्म, संस्कार, संस्कृति, खानपिन प्राचीन कालदेखि नै मिल्दोजुल्दो घनिष्ठ सम्बन्ध रहेको छ । यहाँ सौका समुदायको बहुलता रहेको  छ । यस क्षेत्रको  मुख्य पेशा यर्सागुम्बा तथा अरु जडीबुटी संकलन गरी बिक्री वितरण गर्नु हो  । यो क्षेत्रमा  तिब्बतबाट आएका नागरिकहरुले पनी  बसोबास गरेका छन् । उनीहरूसँग पनी उत्तिकै मिल्दोजुल्दो संस्कार, संस्कृति,धर्म जातीय सम्बन्ध रहेको स्थानीय अशोक बोहराले  बताउनु भयो ।        
सदरमुकाम खलङ्गाबाट सीतापुल र छाङ्गरु नेपालको बाटो भएर त्यस ठाउँमा जाँन छ दिन कष्टकर यात्रा गर्नुपर्छ । छाङ्गरुबाट चिनको नाकामा टिंकर पुग्न करिब ४ घण्टा पैदल हिड्नु पर्दछ । २०७६ साल देखि कोरोनाको बेला चिनको टिंकर संग जोडिएको टिंकर नाका दुइदेश बिच भएको सम्झौता अनुसार २०८१ असार ११ गतेबाट संचालनमा आउने भएको छ । छाङ्गरुबाट व्यासको गुन्जी खोला र अप्पर कौवा हिँडेर नौ घण्टा लाग्दछन् । नेपाल र भारतको विवादित क्षेत्र पनि हो । 

अहिलेको नक्साको अनुसार नेपालको जनतालाई गुन्जी खोलाको माथि देखि नै त्यस क्षेत्रमा नेपाली जनतालाई आवतजावत गर्नका लागि भारत सरकारले रोक लगाइएका छन् । महाकाली नदी र कुञ्जी खोलाको संगमनिर नजिकै रहेको अपर कौवामा २०२७ सालमा इलाका प्रहरी चौकीको स्थापना भएको थियो । त्यहाँ निकै बाक्लो बस्ती पनि भएको प्रमाणहरू भेटिन्छन् । अहिले पनि लालपुर्जा स्थानीय बासीहरूसँग छ । केही जनता नेपालको विभिन्न क्षेत्र र भारतमा गएर बसोबास गरेका छन् ।
अहिले महाकाली नदी र गुन्जी नदीको संगम स्थल नाकाबाट २२ किलोमिटर पछाडि सीतापुलमा इलाका प्रहरी चौकी र नेपाल सशस्त्र प्रहरी राखिएको इलाका इन्चार्ज कर्णबहादुर रोकायाले जानकारी दिनुभयो ।यस क्षेत्रका बासिन्दाहरू टिङ्कर हुँदै तिब्बत गएर आवश्यक सामानहरू खरिद बिक्री गर्ने गर्थे । सरकार र माओवादीको १० वर्षे द्वन्द चल्दा स्थानीय बासिन्दाहरूको उठाबास भएको थियो । 

कोरोनाको बेला नाका बन्द नहुँदा सम्म  यस क्षेत्रका बासिन्दाहरू टिङ्कर हुँदै तिब्बत गएर आवश्यक सामानहरू खरिद बिक्री  गर्ने गर्दथे ।  


Leave Your Comments