अर्चना झा रासस
ललितपुर (गोदावरी), २२ भदौ (रासस) – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सात प्रतिवेदनमाथि भएको छलफल शनिबार सम्पन्न भएको छ।
ललितपुरस्थित सनराइज हलमा जारी महाधिवेशनमा विभिन्न आयोगका अध्यक्षहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।महिला सहभागिता सुनिश्चित गर्न माग समेत महाधिवेशनमा प्रमुख एजेन्डा बनेको छ। नेपाल कम्युनिस्ट पार्टीका नेतृ कोमल ओलीले तल्ला कमिटीदेखि प्रदेश, जिल्ला र पालिकास्तरका पदाधिकारी विधानमा कम्तीमा एक महिला अनिवार्य राख्नुपर्ने माग प्रस्तुत भएको जानकारी दिनुभयो।
ओलीले आजको छलफलमा महिला प्रतिनिधिहरूले एक तिहाई महिला सहभागिताका लागि आवाज उठाएका बताउनुभयो। त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका–१४ का वडा अध्यक्ष चयन गुरुङले संविधान र एमाले विधान दुवैमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै यस महाधिवेशनबाट ४० प्रतिशत सहभागिता व्यवहारमै लागू गर्नुपर्ने प्रस्ताव राखिएको बताउनुभयो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सात प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम)सँगै उपत्यका विशेष प्रदेश, जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास र केन्द्रीय संरचनालाई आधार मानी प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी छलफल गरिएको हो।दस टिमले आजको छलफलको निष्कर्ष भोलि २२ भदौमा पूर्ण सभामा प्रस्तुत गर्ने तयारी गरेका छन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित सुरु भएको महाधिवेशनमा दुई हजार ३४१ प्रतिनिधि सहभागी छन्।