ललितपुर । राष्ट्रिय संगीतकर्मी सङ्घ महाङ्काल गाउँपालिकाको आयोजनामा तथा महाङ्काल गाउँपालिका वडा नं. ३ को आर्थिक सहयोगमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आ–आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। राष्ट्रिय लोकगायक नवराज घोरासैनी, प्रदीप रोक्का, प्रतिमा अर्याल, कृष्णप्रसाद दाहाल, विदुर घिमिरे, राम महत र प्रकाश लामालगायत कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले पालिकाको विकासका लागि भौतिक पूर्वाधारसँगै कला, संस्कृति र सांस्कृतिक कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको बताए। उनले स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
त्यसैगरी, विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले आफू जनप्रतिनिधि भएदेखि नै महाङ्कालको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट ल्याउन निरन्तर पहल गर्दै आएको बताए। उनले स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोलमा माया गोलेले छोटो समयमै बृहत् सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा महाङ्कालका संगीतकर्मीहरूलाई विशेष धन्यवाद व्यक्त गरिन्। उनले स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्न तथा कला र संस्कृतिको संरक्षण गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।
कार्यक्रममा महाङ्काल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामप्रसाद घिमिरे, वडा नं. २ का कार्यवाहक अध्यक्ष देवी लामा, वडा नं. ३ का अध्यक्ष मनोज पराजुली, वडा नं. ४ का कार्यवाहक अध्यक्ष तिलक लामा, वडा नं. ५ का अध्यक्ष भूमिनन्द घिमिरेलगायत जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका पूर्वअध्यक्ष सुभाष महत, जिल्ला अध्यक्ष सबिना दाहाल, उपाध्यक्ष श्यामसुन्दर तिमल्सिना तथा जिल्ला कार्यसमितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता राष्ट्रिय संगीतकर्मी सङ्घ महाङ्काल गाउँपालिकाका अध्यक्ष किरण दुलालले गरेका थिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने गाउँपालिका, वडा कार्यालय, अतिथि, कलाकार, संघका पदाधिकारी तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कला, संस्कृति र कलाकारको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धनसँगै राष्ट्रिय तथा स्थानीय कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रमले महाङ्कालको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको आयोजकले जनाएको छ।