ललितपुर। ललितपुर महानगरपालिका वडा नं. ५, लगनखेलस्थित ऐतिहासिक न्हु पोखरीसँगै निर्माण गरिएको आकर्षक सार्वजनिक पार्क ‘न्हु पुखु एभेन्यू’ को उद्घाटन गरिएको छ। स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पार्कको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे पेजले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
नेपाल र स्विट्जरल्याण्डबीच स्थापित ७० वर्ष लामो कूटनीतिक सम्बन्ध तथा दुई देशका नागरिकबीचको मित्रताको प्रतीकका रूपमा निर्माण गरिएको यस पार्कले लगनखेल क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै स्थानीय बासिन्दालाई खुला तथा व्यवस्थित सार्वजनिक स्थल उपलब्ध गराएको छ।उद्घाटन समारोहमा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले न्हु पुखु एभेन्यू नेपाल र स्विट्जरल्याण्डका नागरिकबीचको आत्मीय सम्बन्धको प्रतीक भएको बताए। नेपाल र स्विट्जरल्याण्डबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा स्वीस सरकारबाट पार्क निर्माणको प्रस्ताव आएको र महानगरले त्यसलाई स्वीकार गरेको उनले स्मरण गरे।
अनावश्यक संरचना हटाएर सार्वजनिक उपयोगका लागि पार्क निर्माण गरिएको उल्लेख गर्दै नगर प्रमुख महर्जनले यसको संरक्षण र व्यवस्थापन महानगर तथा महानगरवासीले आफ्नै सन्तानको स्याहार गरेझैँ गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पेजसहितको प्रतिनिधिमण्डललाई पुनः नेपाल भ्रमण गर्न निमन्त्रणा गर्दै आगामी भ्रमणमा ललितपुरका अन्य पोखरीहरू पनि पानीले भरिभराउ भएको देख्न पाउने विश्वास व्यक्त गरे।
त्यस्तै, स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे पेजले पार्क निर्माणमा सहकार्य गरेकोमा ललितपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गरे। नेपाल र स्विट्जरल्याण्ड दुवै हिमाली सौन्दर्यले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले न्हु पुखु एभेन्यूले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।नेपाल पुनः भ्रमण गर्ने इच्छा व्यक्त गर्दै अध्यक्ष पेजले आगामी दिनमा पानीले भरिएको न्हु पोखरी अवलोकन गर्न आउने प्रतिबद्धतासमेत जनाए।
स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण भएको न्हु पुखु एभेन्यूले ऐतिहासिक पोखरीको महत्वसँगै सार्वजनिक खुला क्षेत्रको संरक्षण, सहरी सौन्दर्य र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।