एमाले विधान महाधिवेशन : समूहगत छलफल सम्पन्न, भोलि सुझाव र जवाफ

Date: 2025-09-07
news-banner
अर्चना झा रासस

ललितपुर, २१ भदौ (रासस) – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सात प्रतिवेदनमाथि समूहगत छलफल शनिबार सम्पन्न भएको छ। ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको छलफलमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री जितेन्द्र नारायण यादवका अनुसार भोलि बिहान ८ बजे टोली नेताहरूले सुझाव प्रस्तुत गर्नेछन् र पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्।

महाधिवेशनमा राजनीतिक, संगठनात्मक, विधान संशोधन, अनुशासन, लेखा, निर्वाचन र सल्लाहकार परिषद्का प्रतिवेदन प्रस्तुत भएका थिए। स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमाथि पनि छलफल भएको यादवले जानकारी गराउनुभयो ।

सर्लाही जिल्ला बरहथवा नगरपालिकाका प्रमुख तथा नेकपा एमाले नेतृ कल्पना कुमारी कटुवालले मधेसका जनजीविकासँग जोडिएका मुद्दा र सामाजिक विषयलाई विधानमा समावेश गर्नुपर्नेमा जोड दिँदै महिलामा समावेशिता र पदमा सहभागिता बढाउनुपर्ने बताउनुभयो ।
कटुवालकाले पार्टी पदका लागि उमेर सीमा र कार्यकाललाई सिमित नगरी सक्रियता, क्रियाशीलता र लोकप्रियतालाई आधार बनाउनुपर्ने र पार्टी सदस्यता शुल्क सरल तथा न्यून राखिनुपर्ने प्रस्ताव आएको जानकारी गराउनुभयो ।

महाधिवेशनमा सहभागी महिला प्रतिनिधिहरूले पदाधिकारी हकमा कम्तिमा एक पदमा महिला अनिवार्य राख्नुपर्ने र महिला सहभागिता कागज नभएर व्यवहारमा ४० प्रतिशत पुर्याउनुपर्ने माग समेत राखेका जानकारी दिनुभयो ।

भोलि समसामयिक प्रस्ताव पारित र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन कार्यसूची रहनेछ। तीन दिने महाधिवेशनमा २,३४१ जना सहभागी छन्।

Leave Your Comments