ललितपुर २३ असोज : गोदावरी नगरपालिका–१४, बाँडेगाउँस्थित मामाघर अनाथ असहाय बालबालिका संरक्षण समाज (मामाघर आश्रम) को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता मामाघर आश्रमका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष महाराजजीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न शीर्षकमा कुल ९१ लाख ९७ हजार ७५१ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो। त्यस्तै, कुल खर्च ९१ लाख ५५ हजार ४१० रुपैयाँ रहेको र खर्च कटाएर ४२ हजार ३४१ रुपैयाँ बचत भएको उहाँले बताउनुभयो।
अध्यक्ष महाराजजीले आफ्नो मन्तव्यका क्रममा संस्थाको उद्देश्य, परिचय, कार्यविधि, चुनौती, उपलब्धि तथा संस्थाले अवलम्बन गर्दै आएका नीति–नियमबारे प्रकाश पार्नुभयो। उहाँले हाल आश्रमले ७० जना बालबालिकाको संरक्षण, संवर्द्धन तथा उज्ज्वल भविष्य निर्माणका लागि काम गरिरहेको जानकारी दिँदै बालबालिकालाई सरकारी नीति–नियमअनुसार पारिवारिक वातावरणमा हुर्काउने प्रयास भइरहेको बताउनुभयो।
कार्यक्रममा गोदावरी नगरपालिका महिला विकास अधिकृत सीता गुरुङले आश्रमको कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो। उहाँले गोदावरी नगरपालिका पूर्ण बालमैत्री घोषणा भइसकेको उल्लेख गर्दै मामाघर आश्रम पनि बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा उत्कृष्ट योगदान पुर्याउने संस्थामध्ये एक रहेको बताउनुभयो। अध्यक्ष महाराजजीले देशका लागि योग्य, सक्षम र असल कर्णधार तयार पार्न गरिरहनुभएको प्रयास प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, गोदावरी नगरपालिका–१४ स्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रममा संरक्षित अधिकांश बालबालिका आफ्नो विद्यालयमा अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँले ती बालबालिका पढाइमा अग्रस्थानमा रहनुका साथै संस्कार, गायन, नृत्य, अनुशासन र अन्य विविध गतिविधिमा समेत उत्कृष्ट रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, वडा प्रतिनिधि, आजीवन सदस्य, शिक्षक, प्राध्यापक, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
७० जना बालबालिकाको मामाघर आश्रमले असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई आश्रय, शिक्षा, संस्कार र पारिवारिक वातावरण प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको छ।
सामाजिक लेखापरीक्षण कार्यक्रमले संस्थाको आर्थिक पारदर्शिता, जवाफदेहिता तथा सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।