ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा व्यवसायीहरूले सामना गरिरहेका चुनौती, प्राकृतिक विपद्बाट भएको क्षति, राहत वितरण तथा ललितपुरको व्यावसायिक क्षेत्रको विकासलगायतका विषयमा चर्चा गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पछिल्लो समय व्यवसायीहरूले विभिन्न जटिल चुनौतीको सामना गर्नुपरेको बताउनुभयो। उहाँले हरेक वर्ष हुने प्राकृतिक विपद् तथा अप्रत्याशित घटनाले व्यवसायी र उनीहरूको सम्पत्तिमा ठूलो क्षति पुर्याउने गरेको उल्लेख गर्नुभयो।
हालै आएको विपद्ले ललितपुर तथा आसपासका क्षेत्रका धेरै उद्यमी र उनीहरूका परिवारलाई गम्भीर असर पारेको बताउँदै श्रेष्ठले संकटको समयमा सबैले हातेमालो गरेर सहयोग गरेको जानकारी दिनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघमार्फत करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरी नेपाल सरकारलाई सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो। उक्त राहत रकममध्ये हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको सहयोग वितरण भइसकेको उहाँको भनाइ थियो।
त्यसैगरी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरको व्यावसायिक क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि विभिन्न देशसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरमा व्यवसाय विस्तार गर्ने प्रयास भइरहेको बताउनुभयो।उहाँले आफ्नो कार्यकालमा संघले गरेका गतिविधि, व्यवसायीको हितमा भएका पहल तथा ललितपुरको व्यापार व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धन गर्न सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी दिनुभयो।
कार्यक्रमका अवसरमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।