ललितपुर - ललितपुर जिल्ला प्रशासन कार्यालयको आयोजनामा विपद्का समयमा उद्धार, राहत तथा सहजीकरणलगायतका कार्यलाई प्रभावकारी बनाउन व्यावहारिक अभ्यास (डेमो) कार्यक्रम गरिएको छ।
कार्यक्रममा ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीलाई व्यावहारिक ज्ञान दिइएको थियो। नगर प्रहरी तथा प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुनसक्ने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने उपायबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए।
कार्यक्रममा प्रशासकीय अधिकृत गणेश अधिकारीलगायत सहभागीले ग्यास सिलिन्डरको सुरक्षित प्रयोग तथा सम्भावित जोखिम नियन्त्रणसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठूलो जनधनको क्षति हुनसक्ने बताउनुभयो। उहाँले ग्यास सिलिन्डरलाई घाममा राख्ने, तेर्सो पारेर प्रयोग गर्ने तथा कमजोर पाइप प्रयोग गर्नेजस्ता गलत अभ्यासले आगलागी तथा अन्य दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो।
विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यले यस्ता प्राविधिक सीप सिक्न आवश्यक रहेकोमा प्रजिअ घिमिरेले जोड दिनुभयो।