ललितपुर - यस वर्ष विजयादशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान ०८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।अर्थात्, टीका लगाइमाग्ने मानिसले पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजयादशमीका दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका-प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाउने गरिन्छ । दशैंमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा-टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा-आराधना गरिन्छ ।
असोज २५ गते बिहान ११:४७ बजे घटस्थापनाको शुभ साइत
यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदै छ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान ११:४७ बजेको साइत शुभ रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने उनले बताए ।
असोज २६ गते झन्डा फेर्ने साइत १०:०७ बजे उत्तम रहेको समितिले जनाएको छ । झन्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने पनि उनको भनाइ छ । असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुने भएको छ । असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७:३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०:३९ बजेको छ ।
कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ । कात्तिक ३ गते मङ्गलबार महानवमी पर्व परेको छ । कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैंको यो मुख्य दिन हो । यस दिन देवी विसर्जनको साइत बिहान ०८:४९ बजे रहेको समितिले जनाएको छ । बिहान ०८:४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेहरूका लागि बिहान १०:२६ बजेको साइत उत्तम रहेको छ ।
यस दिन बिहान १०:५१ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ११:५२ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।
कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ । कात्तिक ८ गते आइतबार कोजाग्रत व्रत र पूर्णिमा व्रत परेको छ । यस दिन बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा-आराधना गरेपछि १५ दिन लामो दुर्गापक्ष अर्थात् दशैं पर्व समापन हुन्छ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको पनि समितिले जनाएको छ ।
बडादशैंका अवसरमा बजार-पसलमा पनि भिड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैं नजिकिएसँगै बजारमा भिड बढ्न थालेको छ । दशैंमा सहुलियत मूल्यमा खाद्यपदार्थ बिक्री-वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।
दशैंमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैं पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढहरूले भने देवीको पूजा-उपासना गरी मनाउँछन् ।
यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।