राजनीतिक दलको प्रवृत्तिविरुद्ध जेन्जी पुस्ताको असन्तोष

Date: 2025-12-30
news-banner
ललितपुर, १५ पुष : जेन्जी आन्दोलन राजनीतिक दलको प्रवृत्ति, नातावाद–कृपावाद र युवासँग संवादको अभावको प्रतिफल भएको सरोकारवालाहरूले बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘समन्वय र सहमतिका लागि सरोकारवालाबीच’ संवाद विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले शान्ति, सामाजिक न्याय तथा युवा पुस्ताले भोगिरहेका चुनौतीहरूबारे आ–आफ्ना धारणा व्यक्त गरेका हुन् । 
कार्यक्रममा पूर्व सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता अन्जना बिसंखेले पुराना राजनीतिक दलहरू अझैँ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 
उहाँले राजनीतिक दल समयमै जिम्मेवार नबने निर्वाचनपछिको अवस्था झन् जटिल बन्न सक्ने बताउनुभयो । 

कुनै पनि पार्टीभित्रका नेतृत्व र प्रवृत्तिमा परिवर्तन नआए देश गम्भीर सङ्कटतर्फ जाने चेतावनी दिँदै जेन्जी पुस्ताका माग र सक्रियतालाई व्यवस्थित रूपमा सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
युवाको समस्या नबुझिनु नै वर्तमान असन्तोषको मुख्य कारण रहेको उहाँको भनाइ थियो ।

विश्लेषक डा. इन्द्रा अधिकारीले राजनीतिक क्षेत्रमा अपेक्षित परिवर्तन नआएको बताउनुभयो । उहाँका अनुसार जेन्जी पुस्ता र अघिल्लो पुस्ताको सोचमामा फरक रहेको भन्दै सत्तामा रहेका व्यक्तिहरूले सूचनाबाट युवालाई बञ्चित गर्न खोजेकै कारण जेन्जी आन्दोलन चर्किएको हो । सत्तामा रहेका व्यक्तिहरूका सन्तानले सहज रूपमा सेवा–सुविधा पाउने तर आम युवाले नपाउने अवस्थाले असन्तोष बढाएको उहाँले बताउनुभयो । 
आन्दोलनलाई बाह्य शक्तिले परिचालन गरेको भन्ने आरोप निराधार रहेको भन्दै त्यसको प्रमाण खोज्नुपर्नेमा अधिकारील जोड दिनुभयो । उहाँले सरकारले अभिभावकको भूमिका निर्वाह गर्दै युवासँग संवाद गर्नुपर्ने सुझाव दिनुभयो । 

अनुसन्धानकर्ता रिता साहले जेन्जी आन्दोलन राजनीतिक दलहरूको प्रवृत्तिको परिणाम भएको बताउनुभयो । उहाँले नातावाद र कृपावादका कारण आन्दोलन सुरु भएको उल्लेख गर्नुभयो । राजनीतिक दलहरूले भ्रष्टाचार संरक्षण गरेको र सम्पूर्ण प्रणाली राजनीतिकरण भएको उहाँको आरोप थियो । सत्तामा रहेका व्यक्तिहरूले सत्ता जोगाउन जनभावनासँग खेल्ने गरेको बताउँदै वर्तमान सरकारले युवालाई स्वीकार्न नसकेको धारणा राख्नुभयो । पार्टी नेतृत्वले वरिष्ठता त्याग्न नसक्नु र जेन्जीका माग स्वीकार गर्न नसक्नु नै आन्दोलनको कारण भएको उहाँको भनाइ छ । 

चुनाव नजिकिँदै गर्दा बन्ने गठबन्धन पितृसत्तात्मक रहेको र त्यसमा महिलाको सहभागिता न्यून भएको भन्दै लैङ्गिक समानता व्यवहारमा लागु गर्न अनुरोध      गर्नुभयो । उहाँले सत्ता शक्तिका लागि अनावश्यक ध्रुवीकरण नगर्न राजनीतिक दललाई आग्रह गर्दै निर्वाचनमा हुने आर्थिक चलखेलप्रति दल र जनता दुवै गम्भीर हुनुपर्ने बताउनुभयो । 

गैरसरकारी संस्था महासङ्घका महासचिव देवी खड्काले सामाजिक सद्भाव कायम गर्न परिवर्तन अपरिहार्य रहेको बताउनुभयो ।उहाँका अनुसार अघिल्लो पुस्ताले परिवर्तन नचाहे पनि अहिलेको पुस्ताले त्यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेको छ । 
राज्यसत्तामा रहेका व्यक्तिहरूले युवाको सोचअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचन आचारसंहिता र यसको मूल्य–मान्यतनागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । राज्यले वर्तमान पुस्तालाई बेवास्ता गरेकै कारण जेन्जी आन्दोलन जन्मिएको उहाँको भनाइ छ । 

कार्यक्रममा सहभागी सार्थक बास्कोटाले जेन्जी आन्दोलनको मुख्य कारणमध्ये भाषागत समस्या प्रमुख रहेको बताउनुभयो । उहाँले पुराना राजनीतिक दल र नागरिक समाजले प्रयोग गर्ने भाषामा सुधार आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रमा सहभागी पवित्रा भट्टराईले भाषामा परिवर्तन अपरिहार्य रहेको बताउँदै जेन्जी आन्दोलनले आचरण र व्यवहारमा पनि परिवर्तनको माग गरेको उल्लेख गर्नुभयो । उहाँले मिडियाले जेन्जी आन्दोलनलाई गलत रूपमा व्याख्या गरेको आरोप लगाउँदै यस विषयमा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी शान्ति राई खुवाईले अर्थपूर्ण सहभागिताको आवश्यकता औँल्याउँदै पुस्तागत परिवर्तन भइरहेको अवस्थामा राज्य पक्षले त्यसका लागि के गर्दैछ भन्ने प्रश्न उठाउनुभयो । सहभागी विवश जंग कटुवालले नागरिक समाज हालको पुस्तासँग समन्वय गर्न नसकेको बताउनुभयो । 

युवाहरूसँग नजिक जाने आवश्यकताको अनुभूति नागरिक समाजमा नदेखिएको उहाँको भनाइ थियो । रोजगारीका लागि युवाहरू विदेश जान बाध्य भएको र उनीहरूको रेमिट्यान्समै देश चलेको अवस्थामा राज्यले युवाहरूलाई केवल पैसा पठाउने मेसिनका रूपमा हेरेको आरोप लगाउनुभयो । 

जेन्जी आन्दोलनका घाइते रामबहादुर कार्कीले जेन्जी आन्दोलन सुशासनतर्फ उन्मुख भए पनि अझै पुरानै प्रक्रियामा सीमित रहेको धारणा व्यक्त गर्नुभयो । 
उहाँले यो आन्दोलन सचेतनाका लागि मात्र नभई वास्तविक परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । 

सहभागी अशोक खनालले जेन्जी युवाहरूको धारणा दुई किसिमको रहेको उल्लेख गर्नुभयो । एक समूह प्रणालीभित्र रहेको र अर्को प्रणालीबाहिर रहेको भन्दै आन्दोलनपछिको अवस्थामा युवाहरूको भूमिका के हुने हो भन्ने प्रश्न उठाउनुभयो ।
अर्चना झा रासस

Leave Your Comments