ललितपुर - ज्यापू समाज यल युवा तथा मेलमिलाप विभाग अन्तर्गतको युवा तथा खेलकुद उपसमितिको आयोजनामा ‘उपत्यकाब्यापी कराँते प्रतियोगिता २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिता प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको प्रायोजनमा सञ्चालन गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला केसी ले विजेता खेलाडी तथा टोलीहरूलाई प्रमाणपत्र, मेडल, ट्रफी तथा नगद पुरस्कार हस्तान्तरण गर्नुभयो । उपत्यकाब्यापी स्तरमा सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न डोजोहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा बाघ भैरव डोजो प्रथम, लुभु डोजो द्वितीय तथा झरुवारासी डोजो तृतीय हुन सफल भएका छन् ।
प्रथम हुने टोलीले मेडल, प्रमाणपत्र, ट्रफी सहित नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने द्वितीय हुने टोलीलाई मेडल, प्रमाणपत्र, ट्रफी तथा नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी तृतीय हुने टोलीले मेडल, प्रमाणपत्र, ट्रफी सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताले उपत्यकाभित्र कराँते खेलको विकास, खेलाडीहरूबीच आपसी सम्बन्ध विस्तार तथा युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ ।