नेपालको जङ्गलको मौन अभिभावक : जरायो संरक्षणमा बढ्दो चुनौती

Date: 2026-05-08
news-banner
आशिर्वाद राज झा

ललितपुर, २५ गते : नेपालको घना जङ्गलमा विचरण गर्ने जरायो (Sambar deer – Rusa unicolor) एसियाकै सबैभन्दा ठूलो हरिण प्रजातिमध्ये एक मानिन्छ। विशाल शरीर, बलिया खुट्टा र शक्तिशाली आवाजका कारण परिचित जरायो नेपालको वन्यजन्तु सम्पदाको महत्वपूर्ण हिस्सा हो। तर पछिल्लो समय वासस्थान विनाश, अवैध शिकार तथा मानव अतिक्रमणका कारण यसको अस्तित्व चुनौतीमा पर्दै गएको छ।

वन विज्ञान अध्ययन संस्थान काठमाडौँका स्नातक तहका विद्यार्थी प्रिन्स पाण्डे का अनुसार हरिण परिवारमा पर्ने भए पनि जरायो आकार, बनोट र शक्तिका हिसाबले अन्य हरिणभन्दा निकै फरक छ। पूर्ण वयस्क भाले जरायोको तौल १५० देखि ३०० किलोग्रामसम्म हुने तथा काँधसम्मको उचाइ १२० देखि १५० सेन्टिमिटरसम्म पुग्ने बताइन्छ। यसको शरीरको लम्बाइ १.६ देखि २.७ मिटरसम्म हुन सक्छ। भाले जरायोको टाउकोमा आकर्षक शाखादार सिङ हुने गर्छ, जुन प्रत्येक वर्ष झरेर पुनः उम्रिन्छ। पोथीमा भने सिङ हुँदैन। जरायोको छाला सामान्यतः गाढा खैरो वा कफी रङको हुन्छ भने पेटको भाग केही फिक्का देखिन्छ। बच्चा जरायोको शरीरमा देखिने सेता दाग उमेर बढ्दै जाँदा हराउँदै जाने गर्छन्।

प्रजननका हिसाबले जरायोको गर्भावधि करिब सातदेखि आठ महिना हुन्छ। पोथीले सामान्यतः एउटा मात्र बच्चा जन्माउँछ र बच्चा जन्मिएको केही घण्टामै उठ्न तथा हिँड्न सक्षम हुन्छ। प्राकृतिक वातावरणमा यसको औसत आयु १२ देखि २० वर्षसम्म रहने बताइएको छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ International Union for Conservation of Nature (IUCN) को रातो सूचीमा जरायोलाई “सङ्कटापन्न” श्रेणीमा राखिएको छ। विश्वव्यापी रूपमा यसको संख्या घट्दै गए पनि नेपालमा संरक्षण प्रयासका कारण अवस्था तुलनात्मक रूपमा सन्तोषजनक मानिन्छ।नेपालका चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, अन्नपूर्णा संरक्षण क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्ज मा जरायो पाइन्छ। विशेषगरी चितवन र बर्दियामा यसको सघन उपस्थिति रहेको देखिन्छ।
जरायो तृणभक्षी जनावर हो। यसले घाँस, पात, झारपात, फलफूल, फूल, बोक्रा तथा जलीय वनस्पति खाने गर्छ। बिहान र साँझको समयमा बढी सक्रिय रहने जरायो पानीमा पस्न र पौडिन समेत रुचाउने जनावरका रूपमा चिनिन्छ। यही कारण यो नदी, ताल तथा सिमसार क्षेत्र आसपास बढी देखिने गर्छ।

वन्यजन्तु अनुसन्धानअनुसार जरायो बाघ र चितुवाको प्रमुख आहार प्रजाति हो। विशेषगरी चितवन र बर्दियाका बाघहरूको आहारमा जरायोको ठूलो हिस्सा रहने गरेको पाइन्छ। यसको ठूलो शरीरका कारण एउटा वयस्क जरायोको सिकारबाट बाघले धेरै दिनसम्म खाना प्राप्त गर्न सक्छ। जङ्गली कुकुर (ढोले) र गोहीले समेत जरायोलाई सिकार गर्ने गर्छन्।
जरायोको अर्को रोचक पक्ष यसको ठूलो आवाज हो। साथी खोज्ने मौसममा भाले जरायोले निकाल्ने शक्तिशाली स्वर घना जङ्गलमा टाढासम्म सुनिन्छ। खतरा महसुस गर्दा यसले सिट्टीजस्तो चेतावनीपूर्ण आवाज निकालेर अन्य जरायोलाई सतर्क गराउने गर्छ।वनको पारिस्थितिक प्रणालीमा जरायोको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। यसले वनस्पतिको सन्तुलन कायम राख्नुका साथै बाघ, चितुवा जस्ता माथिल्लो तहका शिकारी जनावरहरूको जीवनचक्रलाई टिकाइराख्न मद्दत पुर्‍याउँछ। साथै यसको विष्ठाबाट बीउ फैलिने भएकाले वन पुनरुत्थानमा समेत योगदान पुग्ने विज्ञहरूको भनाइ छ।

नेपालमा जरायो संरक्षणका लागि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कडा कानुनी व्यवस्था गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा नेपाली सेना र निकुञ्ज प्रशासनले नियमित गस्तीमार्फत अवैध शिकार नियन्त्रण गर्ने काम गरिरहेका छन्। सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय बासिन्दाको सहभागिताले पनि संरक्षण अभियानलाई थप प्रभावकारी बनाएको छ।जरायो स्वभावले लजालु तथा मानवबाट टाढा बस्न रुचाउने जनावर भएकाले कृषिमा अन्य वन्यजन्तुको तुलनामा कम क्षति पुर्‍याउँछ। यही कारण किसान र जरायोबीचको द्वन्द्व अपेक्षाकृत न्यून देखिन्छ। तर बढ्दो वन फँडानी, मानव बस्ती विस्तार तथा वासस्थान सङ्कुचनका कारण यसको भविष्य अझै चुनौतीपूर्ण बनेको विज्ञहरू बताउँछन्।

वन विज्ञहरूका अनुसार जरायोको संरक्षण गर्नु भनेको नेपालको समग्र जैविक विविधता तथा बाघजस्ता दुर्लभ वन्यजन्तुको भविष्य सुरक्षित गर्नु हो। नेपालको जङ्गलको मौन अभिभावकका रूपमा परिचित जरायोको अस्तित्व जोगाउन सरकार, स्थानीय समुदाय र संरक्षणकर्मी सबैको संयुक्त प्रयास आवश्यक रहेको उनीहरूको भनाइ छ।




Leave Your Comments