ललितपुर वडा नं. ५ मा दुईदिने आधारभूत प्राथमिक उपचार तथा आगलागी नियन्त्रण तालिम सुरु

Date: 2026-01-10
news-banner
ललितपुर - ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा तथा Innovative Klean & Green Solution को प्राविधिक सहयोगमा दुईदिने आधारभूत प्राथमिक उपचार तथा आगलागी नियन्त्रण तालिम सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ५ का अध्यक्ष विकास मान श्रेष्ठले आकस्मिक अवस्थामा समयमै प्राथमिक उपचार गर्न सकिएमा मानवीय क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले विभिन्न स्थानमा आगलागीका घटना बढ्दै गएको उल्लेख गर्दै वडा नं. ५ का विभिन्न स्थानमा फायर सिलिन्डर जडान गरिएको जानकारी दिनुभयो। साथै, तालिमबाट प्राप्त ज्ञान अरूलाई पनि हस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

वडा सदस्य अशोक कुमार श्रेष्ठले सहभागीहरूलाई तालिमलाई गम्भीरतापूर्वक सिक्न शुभकामना व्यक्त गर्नुभयो।त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. ५ की महिला सदस्य शोभा देवी प्रसाद श्रेष्ठले सहभागीहरूलाई तालिम राम्रोसँग लिनका लागि शुभकामना व्यक्त गर्नुभयो। वडा सदस्य पूर्णम निरौलाले प्राथमिक उपचार तालिम अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सामान्य चोटपटकको अवस्थामा आफैंले उपचार गर्न सक्ने ज्ञान निकै उपयोगी हुने उल्लेख गर्नुभयो। त्यस्तै वडा सदस्य मञ्जु रिजालले अस्पताल जानु अघि घरमै प्राथमिक उपचार गर्न सक्ने क्षमताको विकास आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा पिनाकल कलेजका अध्यक्ष सरोज न्यौपानेले तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्दै सानो लापरवाहीका कारण घरमै आगलागीका घटना हुने गरेको उल्लेख गर्नुभयो।

तालिममा रक्तस्राव नियन्त्रण, मेरुदण्डको चोट व्यवस्थापन, आगलागीका बेला अपनाउनुपर्ने सावधानी, फायर एक्स्टिङ्गुइशर प्रयोग गर्ने तरिका लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिँदैछ।

तस्बिरहरु 

Leave Your Comments