अर्चना झा
काठमाडौं, असार ३ : विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको आठौं महासभाबाट निर्विरोध निर्वाचित सभापति अरुणकुमार पाण्डेले बुधबार पदभार ग्रहण गर्नुभएको छ । काठमाडौंको बाँसबारीस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच नवगठित कार्यसमितिको विस्तारसँगै सामूहिक पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रारम्भमा सभापति पाण्डेले महासंघका संस्थापक परिकल्पनाकार स्वर्गीय राजा वीरेन्द्र तथा राष्ट्रगुरु योगी नरहरिनाथको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
नवगठित कार्यसमितिमा उपसभापतिहरूमा नेपाल सरकारका पूर्व शिक्षा सहसचिव महेश्वर शर्मा पौडेल, ज्यो.पं. लेखनाथ न्यौपाने तथा हिमानी ट्रष्टकी पूर्व सदस्य अर्चना शर्मा चयन हुनुभएको छ । महासचिवमा समाजसेवी उत्तमराज भण्डारी, कोषाध्यक्षमा पूर्व लेखा अधिकृत ऋषिराम पोखरेल तथा सचिवहरूमा नरबहादुर सुनार, चेतना मल्ल र मुकुन्द पौडेल रहनुभएको सभापति अरुणकुमार पाण्डेले जानकारी गराउनु भयो ।
त्यसैगरी केन्द्रीय सदस्यहरूमा राष्ट्रिय समाचार समितिका पत्रकार अर्चना झा, पदम विश्वकर्मा, पं. कैलास दाहाल, पं. शंकरप्रसाद नेपाल, पं. पूर्ण खतिवडा, पं. ओमनाथ गौतम, पं. रविन्द्र पराजुली, पं. देवीप्रसाद लम्साल, ज्यो. लिलाराज शर्मा, आचार्य लक्ष्मण पन्थी, ज्यो. राजीव आचार्य, वेदाचार्य सन्तोष न्यौपाने, इन्दिरा कर्माचार्य लगायत चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।
२०३७ सालमा वीरगञ्जको पीपरामठमा सम्पन्न विश्व हिन्दू सम्मेलनबाट स्थापना भएको विश्व हिन्दू महासंघ २०४० सालमा दर्ता भएको अन्तर्राष्ट्रिय संस्था हो । महासंघले २०४४ सालदेखि विश्वका ४३ देशमा राष्ट्रिय समिति विस्तार गर्दै आएको छ भने २०४५ सालमा जेनेभास्थित युनेस्को बैठकमा समेत प्रतिनिधित्व गरेको इतिहास रहेको छ ।
नेपाल राष्ट्रिय समितिको पहिलो सभापति पूर्वमन्त्री अच्युतराज रेग्मी हुनुहुन्थ्यो । त्यसपछि धार्मिक सहिद पण्डित नारायण पोखरेल, पूर्वमन्त्री भोलानाथ झा तथा नीलप्रसाद भण्डारीले सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । नीलप्रसाद भण्डारीको निधनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी कार्यवाहक सभापति रहनुभएको कुरा पाण्डेले बताउनुभयो ।
२०६४ सालदेखि ॐकार सञ्चार अभियानका संस्थापक पाण्डे सनातन हिन्दू अधिराज्य अभियानका सक्रिय अभियन्ता, ॐकार टेलिभिजनका आचार्य तथा धार्मिक प्रवचनकर्ता हुनुहुन्छ । उहाँले राष्ट्रिय कोटिहोम, प्रयुत होम महायज्ञ, लक्ष होम महायज्ञलगायत दर्जनौं वैदिक यज्ञमा यज्ञाचार्यको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले सनातन धर्मको संरक्षण, संगठन सुदृढीकरण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।