विकासका लागि पठन संस्कृति कार्यक्रम सम्पन्न

Date: 2026-06-17
news-banner
ललितपुर, असार ३ — पठन संस्कृतिको विकास र पुस्तकप्रति नागरिकको आकर्षण बढाउने उद्देश्यले आयोजित ‘विकासका लागि पठन संस्कृति’ कार्यक्रम सम्पन्न भएको छ। JB Education International Foundation को आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. २५ र तथ्यपाटीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा JB Education International Foundation का अध्यक्ष दीपकराज जोशीले पठन संस्कृतिको विकासका रणनीति, चेतनाको झ्यालका रूपमा पठन संस्कृतिको महत्त्व, कस्ता प्रकारका पुस्तक पढ्ने, उमेर र रुचिअनुसार पुस्तक छनोट गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले नियमित अध्ययनले व्यक्तिको सोच, ज्ञान, सिर्जनशीलता र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने बताउँदै पुस्तकलाई जीवनको अभिन्न साथी बनाउनुपर्नेमा जोड दिनुभयो।

ललितपुर महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष दौलतकुमार खत्रीले शिक्षा र चेतनासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू वडाबाट सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँले पठन संस्कृतिको विकासले समाजलाई सभ्य, शिक्षित र जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा तथ्यपाटीका संवाददाता बीएम आचार्यले पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिमा कमी आउँदै गएको चिन्ताजनक अवस्था रहेको बताउनुभयो। उहाँले व्यक्तिलाई पुस्तकसँग पुनः जोड्ने, परिवारभित्र अध्ययनको वातावरण सिर्जना गर्ने तथा नयाँ पुस्तामा पढ्ने बानीको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

त्यसैगरी तथ्यपाटीका सल्लाहकार ईश्वरराज ढकालले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै विद्यार्थीहरूमा अध्ययनभन्दा कृत्रिम बौद्धिकता (AI) तथा च्याटजीपीटीजस्ता माध्यमको प्रयोग बढ्दै गएको उल्लेख गर्नुभयो। यसले पढ्ने बानीमा कमी ल्याइरहेको भन्दै विद्यार्थी र युवापुस्तामा अध्ययन संस्कृतिको विकास कसरी गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले पठन संस्कृतिले व्यक्तिको मात्र नभई राष्ट्रको भविष्य निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए। उनीहरूले जन्मदिन, शुभकामना आदानप्रदान तथा अन्य सामाजिक अवसरहरूमा अनावश्यक खर्च गर्नेभन्दा पुस्तक उपहार दिने तथा एकअर्काबीच पुस्तक साटासाट गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए।

पठन संस्कृतिको प्रवर्द्धनमार्फत ज्ञान, चेतना र सकारात्मक सामाजिक परिवर्तनको आधार निर्माण गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गरिने तथ्यपाटीका अध्यक्षले बताउनुभयो ।



Leave Your Comments