ललितपुर - ललितपुर क्षेत्र नं. २ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार प्रेमबहादुर महर्जनले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनले निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आवश्यक कागजातसहित मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार महर्जनले ललितपुर क्षेत्र नं. २ का मतदाताको विश्वास र समर्थनका साथ चुनावी मैदानमा उत्रिएको बताए। उनले विकास, सुशासन, रोजगारी र स्थानीय तहको समन्वित विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गरे।उनका अनुसार क्षेत्रको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्न विशेष प्राथमिकता दिइनेछ। “ललितपुर क्षेत्र नं. २ का जनताको भावना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता लिएर उम्मेदवारी दिएको हुँ,” उनले भने।
मनोनयन दर्ताका क्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समर्थकहरूले नाराबाजी गर्दै उम्मेदवार महर्जनलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।