गगनले तीन अर्ब राखेको आरोप लगाउने कान्छाराम पार्टीबाट निलम्बन
Date: 2026-04-30
नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गरेको छ।
नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।
केही दिनअघि कान्छारामले दिएको ‘पार्टी सभापति गगनकुमार थापासँग तीन अर्ब रूपैयाँ छ’ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले २१ फागुनको चुनावमा एक अर्ब खर्च गर्दा पनि थापाले चुनाव जित्न नसकेको दाबी गरेको भिडियोमा सुनिन्थ्यो ।
यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ७ वैशाखमा बसेको बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।