ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ३ द्वारा सञ्चालित ‘हाम्रो घर’ भवनमा स्थापना गरिएको आन्द्रा तथा मलाशय क्यान्सर स्क्रिनिङ्ग सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आन्द्रा तथा मलाशय क्यान्सर स्क्रिनिङ्ग सेवालाई महानगरका सबै २९ वटै वडामा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
वडा नं. ३ का वडा अध्यक्ष गोपाल महर्जन ले शिक्षा, स्वास्थ्य र रोजगारलाई वडाको मुख्य प्राथमिकता बनाइएको बताउँदै क्यान्सरजस्ता जटिल रोगका कारण स्थानीयवासीले भोग्नुपरेको पीडा अत्यन्त संवेदनशील रहेको उल्लेख गर्नुभयो। उहाँले स्वस्थ जीवनशैली र खानपानप्रति सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो।
कार्यक्रममा जापानबाट आएका विज्ञहरूले क्यान्सरबाट बच्ने उपाय, स्वस्थ खानपान, जीवनशैली तथा समयमै परीक्षणको महत्वबारे जानकारी दिएका थिए।वरिष्ठ जनस्वास्थ्य विज्ञ तथा क्यान्सर रोकथाम, नियन्त्रण र अनुसन्धान क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय किशोर कुमार प्रधानांग को पहलमा नेपालमै पहिलो पटक समुदायस्तरमा निःशुल्क आन्द्रा तथा मलाशय क्यान्सर परीक्षण सेवा सुरु गरिएको हो।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार आन्द्रा तथा मलाशयको क्यान्सर विश्वभर तीव्र रूपमा बढिरहेको छ। नेपालमा पनि यो पुरुषहरूमा चौथो तथा महिला–पुरुष दुवैमा पाँचौँ स्थानमा देखिने क्यान्सर रोगका रूपमा फैलँदै गएको विज्ञहरूले बताएका छन्। समयमै परीक्षण गर्न सके रोकथाम र उपचार सम्भव भए पनि जनचेतनाको कमी तथा परीक्षण सेवाको अभावका कारण धेरै बिरामी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गरेका छन्।
यिनै चुनौतीलाई मध्यनजर गर्दै “समुदाय रोग रोकथाम र अनुसन्धान केन्द्र”, च्यासल ललितपुरका कार्यकारी अध्यक्ष किशोर कुमार प्रधानांगको पहलमा जापानबाट अनुदानस्वरूप प्राप्त करिब ८० लाख रुपैयाँ बराबरको अत्याधुनिक ‘ओसिसेन्टर अटोमेटिकल’ मेसिनसहित आवश्यक केमिकल तथा अन्य सामग्री वडा नं. ३ स्थित स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो।उक्त मेसिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तीन दिने विशेष तालिम जापानबाट आएका विज्ञहरूले स्वास्थ्य केन्द्रमा कार्यरत प्याथोलोजी ल्याबका चिकित्सक, प्राविधिक तथा सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई प्रदान गरेका थिए।
यस मेसिनमार्फत आगामी एक वर्षभित्र वडा नं. ३ मा बसोबास गर्ने करिब ३ हजार महिला तथा पुरुषहरूको निःशुल्क आन्द्रा तथा मलाशय क्यान्सर परीक्षण गरिने जनाइएको छ। नेपालमै पहिलो पटक समुदायस्तरबाट सुरु गरिएको यो सेवा क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।