ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने दाफा खिं, बासुरी र ढोलक प्रशिक्षण सुरु

Date: 2026-05-14
news-banner
ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग तथा रंजितकार समाज ललितपुरको आयोजनामा एक महिने दाफा खिं, बासुरी तथा ढोलक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। परम्परागत सांस्कृतिक बाजा तथा कला संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका सदस्य रुपेन्द्र राज शाक्यले युवापुस्ताले आफ्नो मौलिक संस्कृति र परम्परागत बाजा संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

स्थानीय संस्कृति जगेर्ना गर्न समुदाय, युवा र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै परम्परागत बाजा र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्तालाई संस्कृति र परम्परागत सीपसँग जोड्न सके मात्र मौलिक सम्पदा संरक्षण सम्भव हुने धारणा राख्नुभयो।

त्यसैगरी उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका सदस्य सचिव खगेन्द्र वस्तीले संस्कृति पुस्तान्तरणका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले अहिलेको पुस्तामा परम्परागत बाजा तथा दाफा संस्कृतिप्रति आकर्षण घट्दै गएको अवस्थामा प्रशिक्षणमार्फत युवाहरूलाई यसतर्फ आकर्षित गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो। वस्तीले ललितपुरको सांस्कृतिक पहिचान जोगाइराख्न स्थानीय संघसंस्था र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक बनाइने जानकारी दिनुभयो। 

प्रशिक्षक राजेन्द्र महर्जनले प्रशिक्षण अवधिभर सहभागीलाई परम्परागत बाजाको इतिहास, ताल, लय तथा प्रयोगात्मक अभ्याससमेत गराइने जानकारी दिनुभयो। उहाँले परम्परागत बाजा सिकाइसँगै यसको सांस्कृतिक महत्वबारे पनि जानकारी दिइने बताउनुभयो।

रंजितकार समाज ललितपुरका अध्यक्ष समुन्द्र मान महर्जनले समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले पछिल्लो समय युवापुस्तामा परम्परागत कला र संस्कृतिप्रतिको चासो बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।



Leave Your Comments