पाटन सङ्ग्रहालयमा कोष्टारिकाका राजदूत टोलीलाई स्वागत
Date: 2026-05-22
ललितपुर - ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका पदाधिकारीहरूले भारतका कोष्टारिकाका राजदूत नेस्टर गाब्रिएल बाल्टोडानो भार्गास लगायतको टोलीलाई पाटन सङ्ग्रहालयमा स्वागत गरिएको छ ।
भ्रमणमा राजदूत भार्गाससँगै उहाँकी धर्मपत्नी ग्लाडिस मोरा भिल्लानुएभा, भारतस्थित कोष्टारिका दूतावासकी प्रथम सचिव गाउडी प्याट्रिसिया काल्भो भालेरीयो, परम्परागत चिकित्सा विज्ञ तथा कोष्टारिका दूतावासका विशेष सल्लाहकार ओरलान्डो गुइलेन गोडिनेज तथा नेपालका कोष्टारिकाका अवैतनिक वाणिज्यदूत डा. मनीष थापाको सहभागिता रहेको थियो।
भ्रमणका क्रममा समितिका पदाधिकारीहरूले पाटन सङ्ग्रहालयको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराउँदै नेपालको मौलिक कला, वास्तुकला तथा सम्पदाको संरक्षणबारे अवलोकन गराएका थिए। टोलीले सङ्ग्रहालयभित्र रहेका ऐतिहासिक मूर्तिकला, धातुकला, काष्ठकला तथा प्राचीन सांस्कृतिक सम्पदाप्रति विशेष चासो व्यक्त गरे ।
समितिका पदाधिकारीहरूले ललितपुरको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता भ्रमण तथा अन्तरदेशीय सम्बन्ध महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्