ऐतिहासिक साँखुमा ‘सांगीतिक सम्पदाको प्रतिध्वनि’ कार्यक्रम सम्पन्न

Date: 2026-05-31
news-banner
काठमाडौं महानगरपालिका तथा नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिको संयुक्त आयोजना र नेपाल राष्ट्रिय खड्गी समाज शंखरापुर नगर कमिटीको सहकार्यमा जेठ १६ गते ऐतिहासिक नगरी साँखुमा ‘सांगीतिक सम्पदाको प्रतिध्वनि’ नामक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपालको मौलिक सांगीतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक समूह तथा कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय खड्गी समाज शंखरापुरका सहभागीहरूले परम्परागत सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भएका थिए।

कार्यक्रममा परम्परागत धिमे खलः को विशेष प्रस्तुति रहेको थियो भने चर्चित कुटुम्ब बायन समूह को सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो। स्थानीय कला, संस्कृति र बाजागाजाको समिश्रणले कार्यक्रम स्थल सांगीतिक वातावरणले गुञ्जायमान बनेको थियो।यस अवसरमा नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर जिल्ला अन्तर्गतको नायोः खि बाजा समूह को समेत उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न स्थानबाट आएका सांस्कृतिक समूहहरूको उपस्थितिले नेपाली मौलिक संस्कृति संरक्षणमा सामूहिक प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमले सांगीतिक सम्पदा संरक्षण, सांस्कृतिक एकता अभिवृद्धि तथा नयाँ पुस्तामा परम्परागत कला र संस्कृतिप्रति जागरण ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। ऐतिहासिक साँखुमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय तथा राष्ट्रिय सांस्कृतिक पहिचानलाई थप सशक्त बनाएको विश्वास गरिएको छ।






Leave Your Comments