ललितपुर, जेठ २२ – लगनखेलस्थित ऐतिहासिक न्हुपोखरीको उत्तर–पूर्वी किनारमा निर्माणाधीन पार्क तथा सौन्दर्यीकरण परियोजनाको आज स्थलगत अनुगमन गरिएको छ।
स्विस दूतावासको सहयोग तथा ललितपुर महानगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन भइरहेको उक्त परियोजनाअन्तर्गत अनधिकृत संरचना हटाई पार्क निर्माण कार्यलाई तीव्रता दिइएको छ।अनुगमनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि स्विस राजदूत, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ तथा वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
टोलीले निर्माण कार्यको प्रगति, गुणस्तर तथा निर्धारित मापदण्डहरूको पालना सम्बन्धी स्थलगत निरीक्षण गरेको थियो। परियोजना सम्पन्न भएपछि न्हुपोखरी क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै पैदलयात्री, स्थानीयवासी तथा आगन्तुकहरूलाई पोखरीको मनोरम दृश्य अवलोकन गर्न सहज वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।
वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र पार्क चाँडै सर्वसाधारणका लागि उद्घाटन गरिनेछ।
महानगरपालिका र स्विस दूतावासबीचको सहकार्यमा अघि बढाइएको यो परियोजनाले न्हुपोखरी क्षेत्रलाई थप आकर्षक, व्यवस्थित तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।