ललितपुर । ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित दफालु टोल विकास संस्थाको पुनर्गठन गरिएको छ। टोलको सामाजिक एकता, आपसी सद्भाव, सहकार्य तथा विकासलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको हो।
पुनर्गठन कार्यक्रममा ज्येष्ठ नागरिकसहित टोलवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। टोलको सरसफाइ, सुरक्षा, विकास तथा विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै सुख–दुःखमा एकअर्कालाई साथ दिने प्रतिबद्धतासहित टोलवासीहरू सक्रिय रूपमा सहभागी भएका थिए।
पुनर्गठित कार्यसमितिको अध्यक्षमा अङ्कितबहादुर क्षेत्री, उपाध्यक्षमा अनुप श्रेष्ठ, कोषाध्यक्षमा सरु श्रेष्ठ चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सुलोचना दाहाल क्षेत्री, सरिता श्रेष्ठ र मन थापा मगर चयन भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले टोल विकास संस्थाका कामहरू एक जना व्यक्तिको प्रयासले मात्र सफल नहुने बताउनुभयो। समूहगत रूपमा एकताबद्ध भएर काम गर्दा मात्रै टोलको विकास र सामाजिक कार्य प्रभावकारी रूपमा अघि बढाउन सकिने उहाँको भनाइ थियो। उहाँले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिनुभयो।
नवनियुक्त अध्यक्ष अङ्कितबहादुर क्षेत्रीले दफालु टोल विकास संस्थालाई मजबुत र प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थाको काममा पारदर्शिता, आपसी विश्वास, एकता र सामाजिक सेवालाई प्राथमिकता दिँदै टोलवासीको सहभागिता बढाउने उहाँले बताउनुभयो।
टोलका साझा समस्या समाधानका लागि वडा कार्यालयलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी योजनाबद्ध रूपमा काम गर्दै जाने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो।