ललितपुर । श्रीकृष्ण जन्माष्टमी पर्वलाई व्यवस्थित, मर्यादित तथा हर्षोल्लासपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिले विभिन्न सरोकारवाला निकायहरूसँग छलफल तथा तयारी बैठक सम्पन्न गरेको छ।
ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकमा श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउने, भक्तजनको सहज आवागमन सुनिश्चित गर्ने तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा संस्कृति, वाणिज्य तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख खगेन्द्रप्रसाद वस्तीले ललितपुरको मौलिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै पुस्तौँदेखि चलिआएका धार्मिक, सांस्कृतिक तथा अमूर्त संस्कार र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले यस्ता पर्व तथा जात्राले ललितपुरको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई जीवन्त राख्ने भएकाले यसको संरक्षण र निरन्तरताका लागि महानगरपालिका, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए।
आगामी भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनको मंगलबजारस्थित ऐतिहासिक श्रीकृष्ण मन्दिरमा विशेष धार्मिक कार्यक्रम तथा दर्शन हुने भएकाले सो दिन भक्तजनको उल्लेख्य भीड हुने अपेक्षा गरिएको छ। श्रीकृष्ण जन्माष्टमीका दिन सम्माननीय राष्ट्र प्रमुखबाट श्रीकृष्ण भगवानको दर्शन गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्र प्रमुखको स्वागत तथा दर्शन कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक तयारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।
राष्ट्र प्रमुखको स्वागतार्थ संघीय सांसद, प्रदेश सभाका सांसद, ललितपुर महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, कार्यपालिका सदस्यलगायत जनप्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय गरिएको छ। साथै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गर्न महानगरपालिकाका सम्बन्धित शाखा तथा सरोकारवाला निकायहरूलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न आग्रह गरिएको छ।
बैठकले श्रीकृष्ण जन्माष्टमी पर्वका क्रममा भक्तजन तथा सर्वसाधारणलाई कुनै किसिमको असहजता नहोस् भन्ने उद्देश्यले विभिन्न व्यवस्थापनका कामलाई प्राथमिकतामा राखेको छ। विशेषगरी घुम्ती शौचालयको व्यवस्थापन, पार्किङ व्यवस्थापन, स्वयंसेवक परिचालन तथा ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने निर्णय गरिएको छ।
त्यस्तै, मन्दिर परिसर तथा आसपासका क्षेत्रमा भक्तजनको भीड व्यवस्थापन, आवागमनलाई सहज बनाउने, सुरक्षा व्यवस्था मजबुत पार्ने तथा आकस्मिक अवस्थाका लागि आवश्यक समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो। पर्वका क्रममा स्थानीय टोल सुधार समिति, प्रहरी, महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको छ।
ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको श्रीकृष्ण जन्माष्टमी पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महानगरपालिकाले हरेक वर्ष विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै आएको छ। यस वर्ष पनि धार्मिक आस्था, सांस्कृतिक परम्परा र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पर्वलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको हो।
बैठकमा ललितपुर महानगरपालिकाका प्रशासनिक प्रमुख रेखादास श्रेष्ठ, महानगरपालिकाका प्रवक्ता राजु महर्जन, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका प्रतिनिधि, विभिन्न टोल सुधार समितिका प्रतिनिधि, प्रहरीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।