भोटेकोशी बाढीपीडितलाई फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको राहत

Date: 2026-09-03
news-banner
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गरी वितरण गरेको छ।

बाढीका कारण प्रभावित परिवारको दैनिक जनजीवन कठिन बनेको अवस्थामा एशोसिएसनले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री संकलन गरी पीडित परिवारसम्म पुर्‍याएको हो एशोसिएसनका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको सहभागितामा राहत सामग्री संकलन गरिएको थियो। संकलित सामग्रीलाई प्रभावित परिवारको आवश्यकताका आधारमा व्यवस्थापन गरी वितरण गरिएको एशोसिएसनले जनाएको छ।प्राकृतिक विपद्का कारण घरबार तथा सम्पत्तिमा क्षति व्यहोरेका नागरिकलाई तत्काल राहतसँगै आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका लागि समेत सहयोग आवश्यक रहेको एशोसिएसनको भनाइ छ।

विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु व्यवसायिक संस्थाहरूको पनि सामाजिक दायित्व भएको एशोसिएसनले जनाएको छ। व्यवसायबाट प्राप्त स्रोत र साधनको केही हिस्सा सामाजिक सेवामा परिचालन गर्न सके विपद्बाट प्रभावित नागरिकलाई थप सहयोग पुग्ने उसको धारणा छ।

भोटेकोशी क्षेत्रमा बाढीबाट ठूलो क्षति भएपछि विभिन्न संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणले उद्धार तथा राहतमा सहयोग गर्दै आएका छन्। सोही क्रममा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले पनि पीडित नागरिकको सहयोगका लागि राहत अभियान सञ्चालन गरेको हो।




Leave Your Comments