पिनाकल एकेडेमीको ‘स्वागत कार्यक्रम–२०८३’ सम्पन्न

Date: 2026-09-29
news-banner
काठमाडौं । पिनाकल एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको ‘स्वागत कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थीको आयोजनामा काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।


शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सहसचिव सापकोटाले पछिल्लो समय विद्यार्थीबाट ‘पाठ्यक्रम मन परेन, शिक्षक मन परेन, आफ्नो इच्छाअनुसार पढाइ भएन’ जस्ता गुनासा आउने गरेको बताए। विद्यार्थीको अपेक्षाअनुसार शैक्षिक वातावरण निर्माण गर्न मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो।
आफूले छनोट गरेको कलेजलाई उत्कृष्ट बनाउने जिम्मेवारी विद्यार्थीको पनि रहेको उल्लेख गर्दै उनले रुचिको विषय अध्ययन गरेर भविष्यमा त्यसबाट सकारात्मक परिणाम हासिल गर्ने लक्ष्य राख्न विद्यार्थीलाई आग्रह गरे।


कार्यक्रममा पिनाकल कलेजका अध्यक्ष शरदराज न्यौपानेले नवआगन्तुक विद्यार्थीले कलेजमा अध्ययनका क्रममा बोकेर आएको उद्देश्य पूरा गर्न सकून् भन्दै शुभकामना व्यक्त गरे।


कलेजका प्रिन्सिपल डा. ऋषि तिवारीले स्वागत मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीलाई अनुशासन र उत्कृष्टताको मार्गमा अघि बढ्न प्रेरित गरे। आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सके सफलता हासिल गर्न सकिने बताउँदै उनले ठूलो सपना देखेर त्यसलाई पूरा गर्न निरन्तर मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। लाखे नृत्य, मैथिली सांस्कृतिक नृत्य, नेवारी एकल नृत्य, साकेला नृत्य र थारू नृत्यलगायत प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उनीहरूलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कलेजका पदाधिकारीहरूको सहभागिता रहेको थियो।



Leave Your Comments