प्रतिनिधिसभाको बैठक आज (सोमवार) पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश, व्यवस्थापन कार्यलगायत कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आव २०७९–८०’ पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।त्यस्तै व्यवस्थापन कार्यअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’बारे राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।