भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

Date: 2024-05-20
news-banner
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमाना बन्द गर्न लागेको हो  ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताएका छन्  । दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ । भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको हो।

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।  नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।

Leave Your Comments