काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको छ ।
काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यु टावरको प्रक्रिया पुरा नगरी नक्सा स्वीकृति गरेको भन्दै महानगरले गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको हो । गुरागाईँमाथि थप अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । शुक्रवार महानगरमा पत्रकार सम्मेलन गर्दै मानन्धरले भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको बताउनुभयो ।
यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने उहाँको भनाइ छ ।